काँग्रेस त्यागेका सिन्धिया भाजपामा प्रवेश
नयाँ दिल्ली (एजेन्सी) । भारतीय काँग्रेस त्यागेका वरिष्ठ नेता ज्योतिरादित्य सिन्धिया भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सिन्धियाले बुधबार औपचारिक रुपमा भाजपाको सदस्यता ग्रहण गरेका छन् ।
सिन्धियालाई भाजपाका अध्यक्ष जेपी नड्डाले पार्टीको सदस्यता दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । भाजपा प्रवेश गरेपछि सिन्धियाले काँग्रेस त्याग्नुपर्दा दुःखी भएकोसमेत बताएका छन् । उनले आफू भाजपामा प्रवेश गर्नु जीवनकै एक महत्वपूर्ण दिन भएको समेत बताएका छन् । उनले आफ्नो जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने दिन २००१ को ३० सेप्टेम्बर र २०२० को मार्च १० भएको बताएका छन् । सेप्टेम्बर ३०, २००१ मा उनका बाबु काँग्रेसका वरिष्ठ नेता माधवराज सिन्धियाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनी काँग्रेसको राजनीतिमा आएका थिए । जहाँ उनी मनमोहन सिंहको सरकारमा केन्द्रीय मन्त्री बनेका थिए । पछिल्लो पटक उनी काँग्रेसको महासचिब थिए ।
दोस्रो २०२० को मार्च १० मा उनले कााग्रेस त्यागेको घोषणा गरेका थिए । उनले आफूले काँग्रेस त्यागेर भाजपामा प्रवेशले जीवनमै ठूलो परिवर्तन ल्याउनेसमेत बताएका छन् । उनले आफू देश र जनताको सेवामा सँधै लागिपर्ने समेत बताएका छन् । यसैबीच भाजपा प्रवेश गरेकै दिन उनले राष्ट्रिय सभा सदस्यका लागि टिकट पाएकोसमेत भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सिन्धियाले कााग्रेस त्यागेसँगै मध्य प्रदेशमा रहेको काँग्रेस सरकारमाथि संकट बढेको छ । मध्य प्रदेशमा हाल काँग्रेस नेता कमलनाथ मुख्यमन्त्री छ । सिन्धियासँगै २२ जना काग्रेस विधायकले पनि राजीनामा दिएकाले उनको सरकार अल्पमतमा परेको छ । त्यहाँ अब भाजपाले सरकार बनाउने सम्भावना बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Facebook Comment