मदन भण्डारी मार्गको स्तरोन्नति शुरु

डिसी नेपाल
२८ फागुन २०७६ २०:४३

हेटौँडा । हेटौँडा काठमाडौँको सबैभन्दा छोटो मार्ग मदन भण्डारी मार्गको स्तरोन्नति शुरु भएको छ । वाग्मती प्रदेश सरकारले हेटौँडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्न शुरु गरेको हो । प्रदेश राजधानी हेटौँडामा सङ्घीय राजधानी काठमाडौँ तथा आसपासबाट आउजाउ गर्न सहज र सुरक्षित होस् भन्नका लागि सडकको स्तरोन्नतिसँगै सडकलाई फराकिलो पार्न थालिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सडक स्तरोन्नतिको काम एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । प्रदेश सरकारले विकासमध्येको महत्वपूर्ण विकासका रुपमा रहेको सडकको स्तरोन्नतिलाई प्राथमिकता दिने भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल बताउँछन् । प्रदेशका अन्य सडक पनि आवश्यकताअनुसार फराकिलो र चौडा तथा स्तरीय पारिने उनको भनाइ छ । हाललाई अतिआवश्यक भएकाले भीमफेदी कुलेखानीको करिब १५ किलोमिटर सडकको स्तरोन्नति हुने उनले जानकारी दिए ।

एकतर्फी सडकका रुपमा सञ्चालनमा रहेको यो सडक सुधारपछि धेरैको रोजाइमा पर्ने मन्त्री फुयाँल बताए । सडक स्तरोन्नतिको काम सकिएपछि दुई घण्टामै काठमाडौँ–हेटौँडा आउजाउ गर्न सकिने उनको भनाइ छ । सुरुङमार्ग नबनुञ्जेलसम्म हेटौँडा–काठमाडाँैका लागि सबैभन्दा सुरक्षित र व्यवस्थित मार्गका रुपमा यो मार्ग प्रयोग गर्न सकिने गरी र सुरुङको निर्माणपछि पनि स्थानीय तहमा आउजाउका लागि व्यवस्थित सडकका रुपमा रहने गरी स्तरोन्नति गरिने उनले बताए ।

करीब रु ३३ करोड लगानी हुने यस कार्यक्रमअनुसार सडकको मोड सुधार गरेर नाला व्यवस्थापन गर्नाका साथै सडकलाई ६ मिटर चौडा पारेर स्तरीय कालोपत्र गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनीयर नवीन सिंहले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *