तलब नपाएपछि कामदारले रोके पुल निर्माण

डिसी नेपाल
२८ फागुन २०७६ २०:५९

तानसेन। समयमा तलब भत्ता नदिएको भन्दै कालीगण्डकी नदीमा बन्दै गरेको पक्की पुलको काम गर्न कामदारले रोकेका छन् । रामपुर नगरपालिका–१ स्याउलीबजार र घिरिङ गाउँपालिका–१ पुट्टार जोड्ने काली नदीमा बन्दै गरेको पक्की पुल निर्माणको काम भइरहे पनि कम्पनीले गत साउन महिनादेखि नै तलब नदिएको उनीहरुको आरोप छ ।

विसं २०७५ कात्तिकदेखि निर्माणको काम शुरु भएर आव २०७७र७८ मा सम्पन्न लक्ष्य भए पनि अहिलेसम्म पुल निर्माणका काम जम्मा २० प्रतिशत मात्रै भएको छ । नेपाल सरकार सडक विभाग र युनाइटेड बिल्डर्स कम्पनीबीच ठेक्का सम्झौता भएको हो । युनाइटेड बिल्डर्स कम्पनीले निर्माणको जिम्मा पाए पनि कामदारलाई तलब भत्ता दिनका लागि बेवास्ता गरेर बसेको कामदारको गुनासो छ ।

दुई सय १० मिटर लम्बाइ र नौ मिटर चौडाइ भएको पक्की पुल रु साढे २८ करोडको लागतमा निर्माणसम्पन्न हुने पुल निर्माण उपभोक्ता समिति सचिव दानस मल्लले जानकारी दिनुभयो । गत साउनदेखि तलब भत्ता नपाएको पटकपटक माग्दा पनि कम्पनीले वास्ता नगरेको केशर श्रेष्ठको भनाइ छ । उनले कम्पनीका मानिससँग धेरै पटकसम्म तलब माग्दा पनि नसुनेजस्तो गरेकाले अब काम गर्न नसकिने बताए। श्रेष्ठले उचित पहल गर्नका लागि पुल निर्माण उपभोक्ता समितिलाई निवेदन दिँदासमेत समितिले समेत आफूहरुको मागको सुनुवाइ नगरेको उनीहरुको आरोप छ ।

समितिले भने कम्पनीका अध्यक्ष पूर्णलाल हिराचनसँग सम्पर्क हुन नसकेकाले कामदारको गुनासो सम्बोधन गर्न नसकेको समितिले जनाएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले कम्पनीले समयमा तलब दिनुपर्ने र गुणस्तरीय ढङ्गले पुल निर्माणको काम समयमा सक्नुपर्ने बताए। कामदारले भने आजैदेखि पुल निर्माणको काम गर्न छाडेका छन् । पुल निर्माणसम्पन्न भएपछि पाल्पा, तनहुँ तथा नवलपुर क्षेत्रका नागरिकलाई कास्की पोखरासँग सिधा यातायात सुविधा हुने र नेपालको गौरवको योजना कालीगण्डकी करिडोरमार्फत मुस्ताङ गैँडाकोट क्षेत्रसम्म व्यापारिक हिसाबले फाइदा पुग्नेछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *