कोरोना भाइरस संक्रमणबाट जोगिन तयारी नपुगेको भन्दै संसदमा सरकारको चर्को आलोचना

डिसी नेपाल
२९ फागुन २०७६ १३:४५

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि तत्काल रणनीति बनाई आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले विमानस्थल, सीमा नाका र भीडभाड हुने स्थानमा आवश्यक सर्तकता अपनाउँदै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

विदेशबाट आउनेले कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाएकै भरमा कुनै चेकजाँच नगरी जाने व्यवस्था गर्दा संक्रमणको जोखिम बढेको भन्दै जोखिमयुक्त मुलुकबाट आउनेलाई अनिवार्य क्वारेन्टायनको व्यवस्था गर्न पनि सांसदहरुले माग गरे।

साथै कोरोना भाइरसको त्राससँगै कालो बजारी बढेकाले दैनिक उपभोग्य सामानको सुलभ मुल्यमा उपलब्ध गराउने सम्बन्धमा जनतालाई आश्वस्त पार्न पनि सरकारको ध्यानाकर्षण गराए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको अवस्थामा बजारमा कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग गरे।

कोरोनाकोे मौका पारेर ‘जम्माखोरहरुले कृतिम अभाव श्रृजना गर्न खोजेको भन्दै अनुगमन गरी कारबाही गर्न उनले माग गरे। उनले खाना पकाउने ग्यास लगायतका उपभोग्य सामग्रीहरुको अभाव देखिएकाले सामान लुकाएर कालोबजारी गर्ने व्यापारीलाई कानूनअनुसार कारबाही गर्न माग गरे।

उनले भने, ‘आज विश्व ‘कोभेड १९’ नोभल कोरोना भाइरसबाट त्रसित छ। हामी यही मौका पारेर जम्माखोरहरुले कृतिम अभाव खडा गर्दैछन्। खाना पकाउने ग्यास लगायतका अति उपभोग्य वस्तुहरुमा ठूलो अभाव सिर्जना गर्ने यस्ता काला बजारीयालाई र आपूर्ति व्यवस्थामा बाधा दिनेहरुलाई कानुनले सख्त सम्मको कारबाही गर्न कुनै बाधा दिएको छैन र तुरुन्तै यसतर्फ सरकारले कदम चालोस भन्ने माग राख्न चाहन्छु।’

सांसद अधिकारीले स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित उपकरणहरु तत्काल उपलब्ध गराउन समेत माग गरे। सांसद अधिकारीले पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट गराउनेलाई सार्वजनिक गर्न माग गरे।

विष्फोट हुनु पुर्व नै नेपाल प्रहरीलाई पुर्व अनुमान थियो भन्नु अनि विष्फोट पनि हुनुले नेपाल प्रहरीमाथि पनि आशंका पैदा गरेको बताए।
उनले भने, ‘अहिले मैले सुने हामीलाई पुर्वानुमान थियो भनेर नेपाल प्रहरीले भन्छ। गोकुल बाँस्कोटाको घरमा विस्फोट भएको छ।

यो पुलिसलाई पूर्वानुमान थियो भने त्यो विस्फोटमा को को संलग्न छन्। या पुलिस नै त्यहाँ संलग्न भएको त छैन? त्यो समेत छानविन गरी अपराधिलाई सख्त कारबाही गर्न माग गर्न चाहन्छु।’

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोना संक्रमणलाई नेपाल भित्रन नदिने रणनीति तयार गर्न सरकारको ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रिय आवागमनमा नेपालले अहिलेसम्म कुनै पनि रोक नलगाएको प्रति उनले गम्भीर ध्यानाकर्षण गराइन्।

छिमेकी मुलुक भारतले आवागमनका यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दै उनले समयमा नै आवश्यक सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराइन्।

भारतलगायत सबै मुलुकले आफ्नो देशमा पर्याप्त सुरक्षा सर्तकता अपनाइरहेका बेला नेपाल सरकारका मन्त्रीले भने गैह्जिम्मेवार अभिव्यक्ति दिएर जनतालाई थप त्रसित पार्ने काम गरिरहेको भन्दै उनले स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे सरकारको जवाफ माग गरिन्।

उनले भनिन, ‘सरकारको स्वास्थ्य मन्त्रीले सरकार अहिले तयारीमा छैन। आफैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाईनमा एक्लै बस्नुपर्छ भन्ने जस्ता सन्देशहरु बाहिर प्रवाह गरेर जनतालाई अझै बढी त्रसित गरेको गरेको हामीले अनुभूति गरिरहेका छौं। सरकारले किन यस्तो अभिव्यक्ति दियो त्यसको जवाफ पनि हामी सभामुख मार्फत चाहन्छौं।’

कोरोना संक्रमणको नाममा जनतालाई त्रसित पार्ने गरी अत्यावश्यक खाद्य बस्तुहरु व्यापारीले लुकाएर बजारमा पाइन छोडको, अन्तर्राष्ट्रि रुपमा पेट्रोलियम पदार्थको मूल्य ३० प्रतिशतले कमी आउँदा पनि नेपाली महंगो पेट्रोल किन्न बाध्य भएको उल्लेख गर्दै उनले जनतालाई आश्वस्त पार्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।

राजपाका सांसद महेन्द्रराय यादव ले कोरोना संक्रमणले नेपाली जनतामा भय र त्रास फैलिएको भन्दै नागरिकलाई आश्वस्त तुल्याउदै संक्रमणको जोखिमबाट बच्नका लागि आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए।

उनले सरकारको व्यवहारको जनता आश्वस्त हुनुको सट्टा झन झन अन्यौल बढाएको भन्दै एकीकृत र एकद्धार प्रणालीबाट जनतालाई सूसचित गराउन पनि आग्रह गरे।

उनले कोरोना संक्रमणको संभावित जोखिमबाट बच्न सिमा क्षेत्रमा समयमै आवश्यक सर्तकता अपनाउँदै जोखिम न्यूनीकरणका लागि प्रदेश र संघ बीच समन्वय गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रदीप यादवले कोरोना संक्रमणको जोखिम निम्तन नदिनका लागि सरकारले पर्याप्त सर्तकता अपनाउन नसकेको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराए।

उनले छिमेकी मुलुक भारतले पनि उडानहरु रद्द गर्ने निर्णय गरिसकेको, सबै मुलुकले विमानस्थलमा जाँच गर्ने र जोखिमयुक्त मुलुकबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहँदा नेपाल सरकारले भने लापरवाही गरेको आरोप लगाए।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका चिनियाँ कामदार केहीलाई क्वारेन्टाइनमा राखेको भन्ने खबर आएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकारकाको ध्यानाकर्षण गराए।

उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा ३० प्रतिशतले कमि आउँदा पनि नेपालमा भने पेट्रोलियम पदार्थको मुल्य समायोजन नगरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद डिला संग्रौला पन्तले विश्वभर नै कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सर्तकता अपनाईरहेका बेला नेपाल सरकार भने गैह्रजिम्मेबार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराइन्।

विश्वका मुलुकले आफ्ना नागरिकलाई सुरक्षित बस्न अपिल गर्दै आवश्यक क्वारेन्टाईन लगायतको व्यवस्था मिलाइरहेका बेला सरकारका स्वास्थ्यमन्त्रीले जनतलाईलाई आफै क्वारेन्टाईनमा बस्नुपर्छ भनी गैह्रजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिन नमिल्ने तर्क गरिन्।

कोरोना भाइरसको संक्रमणको जोखिमको त्रास सगै बजारमा खाद्यान्न, ग्यास, औषधि, मास्क, सेनिटाईजर लगायत सामान अभाव भएको भन्दै खाद्यान्न अभाव हुन नदिने व्यवस्था गर्न पनि उनले ध्यानाकर्षण गराइन्।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *