रमेश खरेलले किन गरे नेपालका नेताहरुलाई किम जोङ–उनसँग तुलना?
काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले नेपालका नेताहरुको तुलना निरंकुश तानाशाह उत्तर कोरियाका नेता किम जोङ–उनसँग गरेका छन्।
बिहीबार खरेलकै नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ कार्यक्रमलाई संबोधन गर्दै खरेलले नेपालका नेताहरुलाई किम जोङ–उनसँग तुलना गरेका हुन्। कार्यक्रमलाई संवोधन गर्दै उनले भने, ‘म कहिलेकाहीँ देशको ७७ जिल्लाहरु घुम्छुँ । ७७ जिल्लाहरु घुम्दाखेरि त्यो एउटा कर्णाली अञ्चलको बालक, त्यो आमा, त्यो दाई, त्यो मधेसको गरिब किसानको छोराछोरीहरु देख्छु । उहाँहरु राज्यले दिनुपर्ने शिक्षाबाट वञ्चित हुनुहुन्छ ।’
उनी यत्तिकैमा रोकिएनन् । अगाडि थपे, ‘तर हेर्छु जो पावरमा हुनुभएको छ । तपाइहरुको जिउ, ढाल हेर्छु । कहिलेकाही म कम्पेयर गर्ने गर्छु । तपाइ र नर्थ कोरियाको त्यो किम जोङ–उनमा केही फरक छैन।’ किम जोङ–उन उत्तर कोरियाका सर्वोच्च नेता हुन् । उनी आफ्ना बाबु किम जोङ इलको मृत्युपछि सन् २०११ मा सत्तामा आएका थिए। उनलाई विश्वले एउटा सन्काहा नेताको रुपमा चिन्ने गर्छ । उनी आफ्नो विरुद्ध जाने जो कोहीलाई मृत्युदण्ड दिन्छन् ।
भ्रष्टाचार विरोधी अभियानको शुरु गरेका पूर्व डीआईजी खरेलले नेपालका उच्च पदमा रहेका नेताहरुलाई उनी कोरियाली शासकसँग तुलना गरे पनि उत्तर कोरिया र नेपालको राजनीतिक व्यवस्थामा भने आकाशपातलको फरक छ। र नेताहरुको चरित्रमा पनि फरक छ। तर, एउटा कुरा भने समाना त छ, त्यो जवाफदेहीता । नेपालका नेताहरुसँग अहिले त्यहि जवाफदेहीताको अभाव हुँदा खरेलले उनीहरुको तुलना निरंकुश तानाशाह किम जोङ–उनसँग गरेका हुन्।
कार्यक्रममा बोल्दै खरेलले नेपालका नेताहरुलाई भ्रष्टाचार गर्न लत लागि सकेको बताए। नेताहरुलाई भ्रष्टाचार नगरी निन्द्रा नलाग्ने भन्दै अब त्यसो गरे चुप नबस्ने चेतावनी दिए । त्यस्तै कार्यक्रममा अभियानका संयोजक खरेलले नातावाद र कृपावादको भूमरीमा फसेको मुलकको उद्धार गर्नका लागि आफूहरुले अभियान थाल्नु परेको बताए।
सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक बनेपछि असन्तुष्टि जनाउँदै खरेलले डीआईजीबाट राजीनामा दिएका थिए । खरेल प्रहरी सेवामा खनालभन्दा वरिष्ठ भए पनि उनलाई पाखा लगाइएको थियो ।
हाम्रो नेपाल सुशासन अभियानका लागि खरेलको संयोजकत्वमा रहेको केन्द्रीय तदर्थ कार्यकारी परिषदमा देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन्।
Facebook Comment