काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोटः बालुवाटार क्रिकेट क्लब च्याम्पियन

डिसी नेपाल
२९ फागुन २०७६ २१:११

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगिताको उपाधि बालुवाटार क्रिकेट क्लबले जितेको छ। बिहिबार भएको फाइनलमा महावीर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटार विजेता बनेको हो।

मुलपानी क्रिकेट मैदानमा महावीरले दिएको १ सय ५९ रनको लक्ष्य बालुवाटारले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । बालुवाटारको जितमा सोनु तामाङले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, सुमन उदयले ५० रनको अर्धशतकीय पाली खेले । अर्धशतक पुरा गरे लगत्तै उनी रिटायर्ड हर्ट भए । यस्तै, प्रविन जोशीले २२ तथा अभिनास सिंहले ११ रनको योगदान गरे । महावीरका जितेन्द्र सिंह ठकुरी, दिपेन्द्र मैनाली, ज्योति भण्डारी र चन्द्र कुमारले १–१ विकेट लिए ।

यस अघि, पहिले ब्याटिङ गरेको महावीरले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ५८ रन बनायो । बिभत्सु थापाले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, दिपेन्द्र मैनालीले २३ रन बनाउँदा रबिन जोशीले २१ र सन्जम रेग्मीले १५ रन बनाए । बालुवाटारका सोनु तमाङले ४ विकेट लिए ।

फाइनल खेलका प्लेअर अफ द म्याच सोनु तमाङ घोषित भए । प्रतियोगिताको म्यान अफ दि सिरिज बालुवाटारका उदय सुमन चुनिए । यस्तै केसिटिसीका बलर उज्वल थापा उत्कृष्ट बलर र न्यु भिजनका नरेश चन्द उत्कृष्ट ब्याट्सम्यान चुनिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *