बाग्मती करिडोर चैतसम्म कालोपत्र हुने

डिसी नेपाल
३० फागुन २०७६ २२:३०

काठमाडौँ । बाग्मती करिडोरअन्तर्गत दोभानदेखि बालकुमारी पुल हुँदै लोकन्थलीसम्मको सडक आगामी महिना कालोपत्र हुने भएको छ ।

माइतीघर–सूर्यविनायक सडकको विकल्पका रुपमा रहेको सो करिडोर अहिले नै सञ्चालनमा रहे पनि आगामी महिनासम्ममा कालोपत्र भइसक्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सडकमा गत महिना ग्राभेल भएसँगै सञ्चालनमा आउन थालेको समितिका परियोजना निर्देशक लीलाप्रसाद ढकालले बताए। सो सडक कालोपत्र भएसँगै नै मुख्य सडकको विकल्पका रुपमा प्रयोग हुन थालेको उनको भनाइ छ । उनले भने, “सडक प्रयोग गर्नेहरु अहिले जाममा बस्नु नपरेको बताइरहेका छन्, कालोपत्र भइसक्दा अझै सजिलो हुनेछ ।”

अहिले बल्खुबाट थापाथली हुँदै सङ्खमूलसम्मको करिडोरमा सवारीसाधन चल्न थालेका छन् । लोकन्थलीसम्मको सडक कालोपत्र भए पनि बल्खुबाट लोकन्थलीसम्म मुख्य सडक नपुगी यात्रा गर्न सकिने परियोजना निर्देशक ढकालले बताए । लोकन्थलीबाट कौशलटार हुँदै चारदोबाटोसम्मको करिडोर निर्माणको तयारी भए पनि निर्माणस्थल खाली गराउन कठिन रहेको आयोजनाले जनाएको छ । उनले भने, “यो खण्डमा कतिपय व्यक्तिले नदीको जग्गा आफ्नो नाममा दर्ता गरेका छन् भने कतिपय स्थानमा नगरपालिकाले पनि अवरोध गरिरहेका छन् ।”

सरकारले विसं २०५२ देखि नै वाग्मती र यसका सहायक नदीहरुमा करिडोर निर्माण शुरु गरेको थियो । करिडोरको निर्माणले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा मुख्य सडकको चाप कम हुने विश्वास गरिएको छ । करिडोरको निर्माणसम्पन्न भएपछि बल्खुबाट सङ्खमूल, बालकुमारी, चारदोबाटो हुँदै सल्लाघारीसम्म पुगिनेछ । करिडोरको निर्माण तीन प्याकेजमा भइरहेको छ । उपत्यकाको सबैभन्दा बढी सजारी चाप हुने चोकमा थापाथली, नयाँबानेश्वर, कोटेश्वर, जडीबुटीलगायत छन् । करिडोर सञ्चालनमा आउँदा यी चोकका जाम कम हुन थालेका छन् भने पूर्णरुपमा सञ्चालनमा आउँदा त्यो अझै कम हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *