वायुसेवा उद्योगलाई राहत प्रदान गर्न माग
काठमाडौं। कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले पर्यटक आगमनमा कमी आएपछि त्यसको प्रत्यक्ष मार वायुसेवा कम्पनीले खेप्नुपरेको सम्बद्ध वायु सेवा प्रदायकले जनाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई महामारी घोषित गर्दा विभिन्न मुलुकले आवतजावतमा निकै कडाइ गरेपछि त्यसको सबैभन्दा बढी असर हवाई सेवा प्रदायकलाई परेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले उल्लेख गरेको छ ।
कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा आन्तरिक उडानमा ५० देखि ६० प्रतिशतसम्म कमी आएको जनाएको हो । यही अवस्था रहिरहे हवाई उद्योग बचाउन र कर्मचारीको रोजीरोटी गुमाउनुपर्ने बाध्यकारी अवस्था आउने भन्दै इन्धनलगायत सेवामा सहुलियत दिन कम्पनीले सरकारसमक्ष अनुरोध गरेको छ ।
कम्पनीले अन्तरराष्ट्रिय बजारमा हाल कच्चा तेलको मूल्य करिब ४५ प्रतिशतले घटेकाले नेपालमा पनि हवाई इन्धनको मूल्य घटाएको खण्डमा हवाई कम्पनीलाई केही राहत पुग्ने भन्दै हवाई इन्धनको मूल्य समायोजन गर्न आग्रह गरेको हो । वायुयान सञ्चालन खर्चको सरदर ३० देखि ४० प्रतिशत हिस्सा हवाई इन्धन रहने गरेको हुनाले हवाई इन्धनको मूल्यमा कमभन्दा कम मुनाफा राखी मूल्य समायोजन गर्न सकेमा यसको लाभ सबैले पाउने कम्पनीले उल्लेख गरेको छ ।
‘अघिल्लो वर्ष सन् २०१९ को तुलनामा यस वर्ष सन् २०२० को हालसम्मको तथ्याङ्क हेर्दा पर्यटकीय गन्तव्यका उडानहरुमा ५० देखि ६० प्रतिशत कमी आएको छ र आगामी दिनमा पर्यटक शून्यमा झर्ने उत्तिकै जोखिम रहेको छ । यसको प्रत्यक्ष असर राजश्व र रोजगारमा पर्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै हेलिकोप्टरको बुकिङ पनि ७० प्रतिशतसम्म कमी आएकाले उद्योग बचाउन नै समस्या आउने खतरा व्यवसायीले औँल्याएका छन् । २०७२ साल गोरखा भूकम्पको विषम परिस्थितिमा पनि अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनीहरुले नेपालको उडानमा कुनै पनि हेरफेर गरेका थिएनन् तर यसपटक ती कम्पनीले पनि नेपालको उडान कटौती गरिरहेकाले यसले उड्डयन क्षेत्रलाई नराम्ररी असर पुगेको व्यवसायीको बुझाइ छ ।
यसैबीच वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै विश्व बजारमा घट्दै गएको हवाई मूल्यअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ ।
सङ्घले अब मार्च १५, सन् २०२० को मासिक मूल्य समायोजन गर्दा अन्तरराष्ट्रिय बजारमा घट्दै गएको हवाई इन्धनको मूल्यअनुसार नेपालमा पनि हवाई इन्धनको मूल्य घटाई एवम् कमभन्दा कम मुनाफा राखी ९लिटरको रु १० भन्दा कम० समायोजन गर्ने व्यवस्था मिलाई वायुसेवा उद्योगलाई राहत प्रदान गर्न अनुरोध गरेको थियो ।
Facebook Comment