माओवादी केन्द्रले भन्यो : देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढ्यो

डिसी नेपाल
२ चैत २०७६ १४:४४

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको बताएको छ।

आइतबार रिपोर्टर्स क्लबमा नेपाली जनता समक्ष देश भक्ति पूर्ण संस्कृति निर्माणको सशक्त आह्वान गर्दै पार्टीले हालै आयोजना गरेको ‘मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान’ सफलतापूर्वक सम्पन्न भएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किरातीले यस्तो बताएका हुन्।

अध्यक्ष किराँतीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडीखेलमा झुण्डयाउने समेत उद्घोष गरे।

अध्यक्ष किराँतीको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो। केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष गोपाल किराती, प्रदेश १ अध्यक्ष विमल निरौला, प्रदेश ३ उपाध्यक्ष क. प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष कुमार राई बान्तवा हुनुहुन्थ्यो । उक्त अभियानमा प्रदेश २ अध्यक्ष बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष  अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ कम्रेडहरुले ऐतिहासिक यात्रा गर्नुभयो।’

मेची–महाकाली पैदल यात्राको आफ्नो पार्टीको अभियान इन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे।

‘हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा बस/गाडी प्रयोग गर्नु परेको मेची–महाकाली पैदल अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो’, उनले भने।

अध्यक्ष किरातीले मोहन बैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कार्यगत एकताको लागि छलफल भैरहेको पनि स्पष्ट पारे । आफ्नो पार्टी एमसीसी र सीमाको विषयमा दश दलीय मोर्चामा आवद्ध रहेकोबारे उनले प्रकाश पारे ।

महासचिव कर्णजीत बुढाथोकीले आन्तरिक तथा बाहृय हस्तक्षेप आफ्नो पार्टीलाई स्विकार्य नहुने बताए। उनले भने, ‘हामी आम जनताको अपार माया र स्नेहका साथ अघि बढेका छौं। अहिलेको शासक वर्गले मुलुकमा फेरी द्वन्द्व र युद्ध चाहेकोजस्तो हर्कत गरिरहेको छ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापाले उपरोक्त ऐतिहासिक अभियानमा सक्रिय सहयोग गर्ने मित्रहरु र शुभेच्क्षुक सबैमा आभार प्रकट गर्दै विभिन्नस्तरमा जारी देशभक्त जनसाँस्कृतिक अभियानद्वारा कठोर देशभक्त जनसँस्कति निर्माण आन्दोलनमा जुट्न नेपालीजनसमक्ष जोडदार आह्वान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *