मेलम्चीको कामका लागि सुरक्षामा कमि आउन नदिन निर्देशन
हेटौंडा । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसँगै सुरक्षा चुनौतीबारे बुझेका हुन्।
प्रदेशको लागुऔषध नियन्त्रण र कोरानाविरुद्ध सचेतना अभियानकै क्रममा आइतबार उनले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारे विशेष चासोसमेत राखेका थिए। आयोजनाको काम, प्रगति र सुरक्षा अवस्थाका विषयमा आयोजनाका ई. शेखर खनालले जानकारी दिए। निरीक्षणका क्रममा उनले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन समेत दिएका छन् । प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत दाहालले आग्रह गरे।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफूहरुले देशकै महत्वपूर्ण आयोजना भएकाले गम्भीरताकापूर्वक निगरानीसहित सुरक्षा दिइरहेको जानकारी दिए । यसअघि उनले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभोटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गरिसकेका छन् ।
Facebook Comment