‘नवौँ राष्ट्रिय खेलकूदको तयारी शुरु’

डिसी नेपाल
२ चैत २०७६ १९:३१

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भएको बताएका छन् । खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रतियोगिताको मिति नसर्ने र पूर्वाधार निर्माण तथा खेलकूदको तयारीका काम अघि बढाइएको उल्लेख गरे ।

राष्ट्रिय खेलकूदका लागि रु ७५ करोडदेखि रु एक अर्बको हाराहारीमा बजेट आवश्यक पर्ने भएकाले सरकारसँग माग गरिएको उनको भनाइ छ । स्विमिङ’ र ‘सुटिङ’ बाहेकका अन्य खेलका सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेका बताउँदै पोखरा रङ्गशालाभित्र निर्माण गरिने यी दुई खेल पूर्वाधार निर्माण प्रक्रियासमेत शुरु भएको सदस्यसचिव सिलवालले जानकारी दिए । सुटिङको पूर्वाधारका लागि बोलपत्र आह्वान गरिसकिएको र स्विमिङका लागि डिजाइन तयार भइरहेको बताउँदै उनले विदेशी पनि सहभागी हुने गरी २५ बाई २५ को ‘हिटिङ स्विमिङ’ पोखरी निर्माणको योजना रहेको स्पष्ट पारे ।

सदस्यसचिव सिलवालले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता आगामी तीन महिनाभित्रमा २० हजार पु¥याउने गरी काम भइरहेको उल्लेख गरे । गत वर्ष रु एक अर्ब २८ करोड लागतमा १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने गरी काम भइरहे पनि यहाँका खेलकर्मीको मागअनुसार क्षमता वृद्धि गर्न लागिएको र लागतसमेत रु २० करोड वृद्धि हुने जानकारी उनले दिए । फुटबल रङ्गशालामा ‘स्कोर बोर्ड’ र ‘फ्लड लाइट’को व्यवस्था गर्न आगामी वर्षको बजेटमा योजना समावेश गरेर पेश गरिएको उनको भनाइ छ । पछिल्लो समय नेपाली खेलकूदमा पूर्वाधार, लगानी सबै हिसाबले परिर्वतन भइरहेको सिलवालले स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *