दम्पतीको सम्बन्ध बिगार्दै कोरोनाभाइरस, सम्बन्धविच्छेदका घटना ह्वात्तै बढे

डिसी नेपाल
३ चैत २०७६ १२:१४

काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमण र मत्युदर बढिरहेका बेला यसले दम्पतीको सम्बनध पनि प्रभावित पार्न थालेको छ । कोरोनाभाइरसका कारण क्वारेन्टाइनमा राखिएको एक चिनियाँ शहरमा सम्बन्धविच्छेदका घटना ह्वात्तै बढेको रिपोर्टमा दावी गरिएको छ । उत्तर पश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानमा मार्च १ मा सरकारी कार्यालय खुलेपछि ठूलो मात्रामा सम्बन्धविच्छेदका निवेदन आएको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले लेखेको छ

यहाँको म्यारिज रजिष्ट्रेशन अफिसले कोरोनाभाइरसको महामारीका बीच मार्च १ मा कार्यालय खुलेपछि कार्यालयमा समय लिने प्रणाली विकास गरेको थियो । सियानको बेइलिन जिल्लाको कार्यालयका वांग थर भएका एक कर्मचारीले भने ‘हामीलाई मार्च २ मा सम्बन्धविच्छेदको प्रक्रियाका लागि समय माग्दै फोन आए । त्यसपछिका दिनमा यसरी समय लिनेको संख्या ह्वात्तै बढ्यो ।’ मार्च ५ मा यो कार्यालयमा सम्बन्धविच्छेदका लागि १४ फोन आएका थिए जुन यो कार्यालयले तोकेको सीमाभन्दा बढी हो ।

वांगका अनुसार यसरी समय लिने फोनले मार्च ४ मा पनि निर्धारित सीमा नाघेका थिए । ‘महामारीका कारण दम्पतीहरु एक महिनाभन्दा बढी साथमा घरमै बन्द भएका थिए जसले उनीहरुबीच विवाद बढायो । कार्यालय समेत १ महिनासम्म बन्द थियो । जसका कारण कार्यालय खुल्ने बित्तिकै यहाँ चाप बढ्यो’ वांगले भने ।

यहाँको यांटा जिल्लामा पनि स्थिति यस्तै छ । यो कार्यालयले एक दिनमा ५ सम्बन्धविच्छेदको सीमा तोकेको छ । यो कार्यालयका हान थर भएका एक अधिकारीका अनुसार यहाँ पनि सम्बन्धविच्छेदमा आवेदनको चाप बढेको छ । ‘मार्च १८ सम्म सम्बन्धविच्छेदको लागि कुनै समय खाली छैन’ उनले भने । उनले पनि लामो समय साथमा बस्दा दम्पतीबीच विवाद बढेका कारण सम्बन्धविच्छेदका आवेदन बढी आएको हुन सक्ने बताए ।

अर्कोतर्फ महामारी फैलिनुभन्दा पहिले असमझदारीका कारण सम्बन्धविच्छेद गर्न चाहेका जोडीहरु नछुट्टिने मनस्थितिमा पनि पुगेका छन् । वांगका अनुसार केही युवा जोडीहरुले फेरि विवाह गर्ने निर्णय समेत गरेका छन् जसको सम्बन्ध विच्छेदको प्रमाणपत्र छापिइसकेको छ । यहाँ विवाह वा सम्बन्धविच्छेदका लागि एक दिन अगावै फोन गरेर समय लिनुपर्छ । यहाँबाट विवाह वा सम्बन्धविच्छेदको प्रमाण पत्र पाउन ३० देखि ४० मिनेटको समय लाग्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *