गर्भवतिलाई गोदावरीमा धमाधम चना र अण्डा वितरण

डिसी नेपाल
३ चैत २०७६ १७:२९

काठमाडौं । गोदावरीकी सरिता सिलवाल हाल २९ वर्षकी भइन् । उनीले अहिले पाँच महिनाको गर्भ हुर्काइरहेकी छन् । उनले दोस्रो पटक जन्म दिन लागेकी हुन् । उनी यस पटक अच्चममा परेकी छन् । गोदावरी नगरपालिका हाल वडा नं. ३ साविकको गोदावरीले लक्षित वर्गको पोषण अभिवृद्धि कार्यक्रम शुरुआत गरेसँगै उनी र उनीजस्ता महिलाका लागि यस वर्षदेखि धमाधम चना र अण्डा वितरण गर्न शुरु गरिएको हो ।

सरिताको गर्भ पाँच महिना लागेकाले उनले भर्खरै वडाबाट एक क्रेट अण्डा पाएकी छन् । अण्डा लिँदै उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका महिलाका लागि वडाले प्रभावकारी काम गरिरहेको छ । यस्तो राम्रो कार्यक्रम आजभन्दा पहिले मैले कहीँकतै र कहिलै पनि सुनेको थिइन् ।’ वडाले पहिलो पटक गर्भवती महिला र सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखी यस कार्यक्रम अघि बढाएको हो ।

अर्की २५ वर्षीया सीता सिलवाल अहिले पाँच महिनाको गर्भवती छन् । उनले पनि सरिताले जस्तै वडाबाट एक क्रेट अण्डा पोषणका लागि पाइन् । उनले हातमा अण्डाको क्रेट थाप्दै भनिन्, ‘वडाले हामीजस्ता महिलाको स्वास्थ्यलाई ध्यानमा राखी अघि बढाएको कार्यक्रमले परिवारमासमेत थप सचेतना बढेको छ ।’

गोदावरी घर भएकी २७ वर्षीया विनु सिलवाल हाल आठ महिनाको गर्भवती छन् । उनी गर्भवती भएको यो दोस्रो पटक हो । आफू गर्भवती रहेका कारण सरिता र सीताजस्तै उनले पनि वडाबाट भर्खरै एक किलो चना पाइन् । विगतमा गर्भवतीका लागि यस्तो कुनै पनि कार्यक्रम नरहेकाले घरका परिवारसमेत अच्चममा परेको उनले बताइन् । उनले भनिन्, ‘वडाले मात्रै हैन नगरपालिकाभरिका सबै गर्भवती महिलाले यस्तो कार्यक्रममा भाग लिन पाउनु पर्नेछ । आफूलाई वडाले दिएकोे सुविधा अतुल्नीय छ । आफूले पाएको चनालाई उमारेर यसको दैनिक रस खानेछु । वडाले यस काम अघि बढाएसँगै हरेक घरका गर्भवती र सुत्केरीलाई पोषणको मात्र पुग्नुपर्छ भन्ने चेतना पनि बढेको छ ।’ वडाले यस्तो सहयोगी कार्यक्रम गर्भवती महिलाका लागि हरेक महिना गरिदिए हुन्थ्यो भन्ने सिलवालको मत छ ।

वडाले आफ्ना नगरपालिकाभित्र रहेका गर्भवतीलाई चार चरणमा यस्तो सहयोग प्रदान गर्दै आएको छ । वडाले ‘फोर भिजिट’ कार्यक्रमअन्तर्गत चार महिनाका गर्भवतीलाई एक क्रेट अण्डा । छ, आठ र नौ महिनाको महिलालाई एक–एक किलो चना प्रदान गर्न शुरु गरेको वडा नं ३ की वरिष्ठ अनमी निरीक्षक माया भण्डारीले जानकारी दिइन् । उनले भनिन्, ‘महिलाको मृत्युदर घटाउन र यहाँको स्वास्थ्य संस्थामा हरेक महिना नियमित जाँच गर्न आउने वातावरण सिर्जन गर्न यसले ठूलो सहयोग गर्नेछ ।’
वडाले आफ्नो क्षेत्रको शिशु कक्षमा बच्चा जन्माउने महिलाका लागि थप एक किलो चना दिने घोषणासमेत गरेको छ । नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेसँगै आफूहरुले यस कार्यक्रमलाई अघि बढाएको वडा नं. ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताए । उनले भने, ‘हाम्रो वडाका महिला यस कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुशी देखिनुहुन्छ ।’ वडा नं ३ बाट शुरु भएको यो कार्यक्रम विस्तारै अन्य वडामा पनि लागू गर्ने नगरपालिका उपप्रमुख मुना अधिकारीले जानकारी दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *