सुदुरपश्चिमको स्ट्रिप नक्सा बनाउने मास्केको टोलीमाथि छानविन गर्न सांसदकाे माग
काठमाडौं । सत्तारुढ दल नेकपाका राष्ट्रिसभा सदस्य इन्दु कडरीयाले सुदुरपश्चिमको भारतसंगको स्ट्रिप नक्सा बनाउने मधुकर मास्केको टोलीमाथि छानविन गर्न माग गरेकी छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै कडरीयाले तात्कालिन नेपाली भूभागलाई असुरक्षित मान्दै भारतीय पक्षसंग भारतकै होटलमा बसेर मधुकर मास्केको टीमले नेपालको भूभाग भारतमा जाने गरि नक्सा तयार पारेको दाबी गर्दै छानविनको माग गरेकी हुन् ।
मास्केले तयार पारेको नक्सा अनुसार भारतीय पक्षले नेपाली भूभागलाई आफ्नो भनी दाबी गरेकाले स्थानीय जनता आक्रोशित भएको र फेरी पनि कञ्चनपुर क्षेत्रमा सिमालाई लिएर झडपको अवस्था श्रृजना हुन सक्ने भन्दै उनले सिमा समस्याको तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले सो नक्सा सच्याएर सिमा निर्धारण गरि हराएका पिल्लरलाई पुनस्थापना गर्न माग गरिन् । उनले मास्केको टोलीले बनाएकै नक्सालाई आधार मानिए महाकाली सिंचाई आयोजना हुलाकी राजमार्ग समेत भारतमा पर्ने तथा हजारौ विगाहा नेपाली भूभाग भारतमा पर्ने देखिएकाले तात्कालिन स्ट्रिप नक्सा सच्याउनुपर्ने आवश्यकता औल्याइन् । भारतले हुलाकी राजमार्ग लगायत १ सय ९५ नम्बरको पिल्लर भित्रका कयौ नेपाली भूभागलाई आफ्नो भनी दाबी गरेकाले अहिले स्थानीयबासी आक्रोशित बनेको उनले उल्लेख गरिन् ।
सिमा सुरक्षा गर्ने क्रममा स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनुपरेको भन्दै उनले फेरी पनि सीमा विषयलाई लिएर हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दे तत्काल सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
तत्कालिन नापी अधिकृत मधुकर मास्के नेतृत्वको टोलीले सुरक्षाको कारण देखाउदै भारतीय पक्षको टोलीसंग भारतमै बसेर स्ट्रिप नक्सा तयार पारेको थियो । महाकाली सिंचाईको नहर, हुलाकी सडक समेत भारत तर्फ पर्ने गरि स्ट्रिप नक्सा बनाईएको भन्दै स्थानीयले तत्काल सो नक्सा सच्याउ माग गर्दै आएका छन् ।
Facebook Comment