यस्ता थिए अघोरी त्यागीनाथ बाबा, जसको प्रयासमा जनकपुर अस्पतालको स्थापना भएको थियो

डिसी नेपाल
४ चैत २०७६ ९:५१

शिवको अर्थ कल्याण हो। कल्याणकारी भगवान शिवको महाज्योर्तिलिंग विराजित पशुपतिनाथ विश्वका मानवका कल्याणकारी देवताका देव देवाधिदेव हुन्। मिथक र जनश्रृतिअनुरुप पाशुपत क्षेत्र यस्तो पवित्र क्षेत्र हो जहाँ सिद्धि प्राप्त गर्ने कम्तिमा ५ जनाको उपस्थिति अनिवार्य मानिँदै आएको छ।

यस मान्यता अनुसार ५ जना पागलको भेषधारी तर यथार्थमा पागल नभएका साधक जसले सिद्धि प्राप्त गरेका छन् ती साधकको अनिवार्य उपस्थिति यस क्षेत्रमा हुनुपर्छ। त्यसैगरी ५ जना सिद्ध जोगीहरु पनि पाशुपत क्षेत्रमा अनिवार्य रुपमा रहनुपर्छ।

यसै क्रममा पशुपति क्षेत्रभित्र अनेकौं सिद्ध महात्माहरु बसोबास र तपस्या गरेको स्थान हो। यिनै सिद्ध महात्माहरुमध्ये डा.रामनाथ अघोरीबाट दीक्षा लिई अघोर सम्प्रदायका सिद्ध महात्माको रुपमा १०० वर्षे त्यागीनाथलाई लिने गरिन्छ।

आफ्ना गुरुको स्थान भष्मेश्वरघाटमा जहाँ मुर्दा पोलिरहेको हुन्छ, त्यहाँ त्यसको गन्धमा साधनालीन हुने व्यक्ति उनै त्यागिनाथ बाबा हुन्। उनी तान्त्रिक पनि हुन्। आयुर्वेदमा अत्यन्त पकड जमाएका कविराज पनि हुन्।

घाटहरु आफ्नै खर्चले मर्मत गर्न पनि तम्सिने, सित्तैमा औषधि उपचार गर्ने स्वास्थ्यकर्मी पनि हुन्। डा. रामनाथ अघोरीको प्रेरणा र त्यागीनाथको प्रयासबाट नै जनकपुर अञ्चल अस्पतालको जन्म भएको हो।

अघोर सम्प्रदायको वर्तमानमा एक्ला सिद्ध जोगी थिए, त्यागिनाथ। मागेर जीविका चलाएनन् उनले। त्यही भष्मेश्वर घाटमा नै खाना पकाएर खान्थे। आफ्ना गुरुको सधै प्रशंसा गरिरहने, गोरो अनुहारको, अग्लो उचाई भएका, सधै कालो धोतिमा सजिसजावट रहने त्यागीनाथले मैलो लुगा लगाएको कहिल्यै देखिएन।

रमेश उप्रेती

पशुपतिनाथभन्दा अर्को कुनै ईश्वर छैन भन्ने मान्यता राख्ने त्यागिनाथ पशुपति क्षेत्रको सांच्चै गहना थिए। उनी जीवन र जगतलाई मानवीय कल्याणको दृष्टिकोणबाट हेर्दथे। उनले आफ्नो सिद्धता, कहिल्यै पनि दुरुपयोग गरेनन्।

उनको भारतका अघोरी सम्प्रदायीहरुसंग बाक्लो उठबस थियो। उनलाई भेट्न भारतबाट पनि साधु सन्यासीहरु मार्गनिर्देश लिन आउँथे। एउटा अद्भूत व्यक्तित्व थियो त्यागीनाथको। उनी गाली गर्न कसैलाई पनि बाँकी राख्दैन थिए।

तर, उनको गालीमा पनि मानव कल्याणकै भाव रहनथ्यो। शताब्दी उमेर बाँचेका उनको देहावसान फागुन २८ गते भएको छ। उनको रित्तता पशुपति क्षेत्रले महशुस गर्न नै हिन्दू धर्म र त्यसभित्रको अघोरी सम्प्रदायमा झन् बढी अभाव खड्कने छ। मृत्यु र जीवन, र विष्टा र चौरासी व्यञ्जनलाई एउटै ठान्ने अघोर चिन्तनका विम्ब थिए त्यागीनाथ। भावपूर्ण श्रद्धाञ्जलि




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *