भारतमा कोरोनाको महामारी फैलिने त्रासमा ताजमहल पनि बन्द
बीबीसी । कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
भारतको उत्तर प्रदेश राज्यस्थित उक्त प्रसिद्ध स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको संस्कृति मन्त्रायलले जनाएको छ। प्रत्येक दिन ताजमहलमा सरदर ७०,००० पर्यटक जाने गरेको बताइन्छ।
सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएपछि भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ।
भारतमा अहिलेसम्म केही विदेशीसहित ११४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ।महामारी फैलिन नदिन सरकारले अन्य ऐतिहासिक स्थल तथा सङ्ग्रहालय पनि बन्द गरेको छ।
संस्कृतिमन्त्री प्रह्लाद पटेलका अनुसार ती स्थान मार्च ३१ सम्म बन्द रहनेछन्। त्यसपछि समीक्षा गरेर के गर्ने भन्ने निर्णय लिइने उनले बताए।
भारतले कोभिड-१९ नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ:
भारत आउन चाहने विदेशी नागरिकलाई दिइएको अधिकांश प्रवेशाज्ञा एक महिनाका लागि स्थगित
भारत आउन पाउने मानिसले पनि अनिवार्य १४ दिन क्वारन्टीनमा बस्नुपर्ने
सबै विद्यालय, कलेज र चलचित्र मार्च ३१ सम्म बन्द
झन्डै ६० जना विदेशी खेलाडी पनि सहभागी हुने आईपीएल क्रिकेटको मिति मार्च २९ बाट सारेर एप्रिल १५
भारतको स्वास्थ्य मन्त्रालयले भारतले स्वास्थ्यसम्बन्धी रोगको प्रकोप रोकथाम गर्ने तयारी गरिसकेको दाबी गर्दै शङ्कास्पद सङ्क्रमणको परीक्षण गर्न ढिलो भएको भन्ने आरोपको खण्डन गरेको छ। समुदायमा रोग फैलिन रोक्न भारतसँग पर्याप्त क्षमता नभएको विज्ञहरूको भनाइ छ।
अहिलेसम्म ६,००० जनामा कोभिड-१९ परीक्षण भएको भए पनि रोग नियन्त्रण फैलिन नदिन त्यो पर्याप्त नभएको उनीहरूको धारणा छ।
विज्ञहरूका अनुसार विशाल जनसङ्ख्या भएको भारतमा दैनिक हजारौँ मानिसको परीक्षण गरेर सङ्क्रमित मानिस छुट्याउन सके समुदायमा रोग फैलिनबाट रोक्न सकिन्छ।
सरकारले सरकारी प्रयोगशालामा बाहेक अब निजी प्रयोगशालामा पनि कोभिड-१९ परीक्षण गर्न दिने बताएको छ।
Facebook Comment