जनताले अनुभूति गर्ने गरी काम गर्न नेता सिंहको आग्रह
काठमाडौं। कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष, सदस्य र पार्टीका क्षेत्रीयसभापतिलाई देशको राजधानी काठमाडौंमा प्रभावकारी भूमिका खेल्न तथा जनताले अनुभूत गर्ने प्रकारका काम गर्न आग्रह गरेका छन्।
उनले जनताले अनुभूत गर्ने खालका देखिने काम गर्न आग्रह गरेका हुन्। नेता सिंहले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरना भाइरसले पार्न सक्ने प्रभावलाई ख्याल गरी सशक्त रुपमा स्थानीय स्तरमा जनताको घर–घरमा पुगेर आवश्यक जनचेतना र प्रभावकारी भूमिका खेल्न र आम नागरिकको सहयोगमा जुट्न निर्देशन दिए।
नेता सिंहले संकटको घडीमा जनप्रतिनिधिहरुले आमनागरिकमा रहेको त्रास हटाउने र सहज वातावरण निर्माणका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताए।
कोरनाका नाममा कालोबजारी र अभावले जनजीवन आक्रान्त हुँदासमेत सरकारले बजारमा हस्तक्षेपकारी भूमिका देखाउन नसक्नु दुखद भएको बताउँदै नेता सिंहले भाषण भन्दापनि विपतमा जनमानसमा रहेको त्रास हटाउने भूमिका खेल्न अपिल गरे।
विपदको अवस्थामा आफूहरु सरकारलाई तयार गर्न तयार रहेको उल्लेख गर्दै नेता सिंहले सरकारले कालोबजारी नियन्त्रण गरी महंगी रोक्न विपदबाट बच्न प्याकेज घोषणा गर्नुपर्ने बताए।
नेता सिंहले कांग्रेसको भूमिका प्रभावकारी नभएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला पार्टीको भूमिका प्रभावकारी हुने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे। कांग्रेस विधान अनुसार चल्न नसकेका कारण आजको अवस्थामा पुगेको उनको टिप्पणी थियो।
कार्यक्रममा सांसद राजेन्द्रकुमार केसी काठमाडौं जिल्ला सभापति सवुझ बानियाँ क्षेत्रीयसभापति र जनप्रतिनिधिले आफ्नाे धारणा राखेका थिए।
Facebook Comment