चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
काठमाडौं। चीन र इटलीपछि दक्षिण कोरियामा कोरोनाभाइरको संक्रमण अत्याधिक छ । तर, चीन र दक्षिण कोरियाको बीचमा रहेको देश उत्तर कोरियाले भने अहिले आफ्नो देशमा एक जना पनि संक्रमित नभएको जनाएको छ । चीनमा संक्रमण फैलिएका बेला २ जना संक्रमित देखिएको भए पनि उत्तर कोरियामा अहिले भने कुनै पनि संक्रमित नभएको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको छ । सरकार नियन्त्रित मिडियाका अनुसार सरकारले कोरोनाभाइरस नियन्त्रणको लागि यतिसम्म कडा कदम उठाएको छ कि सर्वोच्च नेता किम जोंग उन मास्क नलगाइ निर्धक्क सार्वजनिक स्थलमा घुमिरहेका देख्न सकिन्छन् ।
दक्षिण कोरियामा करिब ८ हजार संक्रमित र ६७ जनाको मृत्यु भएको छ तर उत्तर कोरियामा भने शून्य संक्रमणको दावी गरिएको छ । तर, केही अमेरिकी मिडिया र उत्तर कोरियाकै मिडियाले समेत उत्तर कोरियामा संक्रमित भएको दावी गरेका छन् । उत्तर कोरियाको मिडिया द डेली एनकेले समेत आफूले भाइरस संक्रमित र उनीहरुको संक्रमणमा आएकाहरुलाई अनिश्चितकालको लागि एकान्तमा राखिएको रिपोर्टहरु पाएको दावी गरेको छ । उसले उत्तर कोरियाको आधिकारिक अखबार रोडोंग सिनमनको हवाला दिँदै यस्तो दावी गरेको छ जुन रिपोर्टमा चागांग प्रान्तमा २६३० जनालाई एकान्तमा राखिएको उल्लेख छ ।
किम जोंग उनले भाइरस संक्रमण फैलिनबाट रोक्न आफ्नो देशका सबै सीमा जनवरीमै बन्द गरेका थिए । उत्तर कोरियाको आधिकारिक प्रेसले पनि कोरोनाभाइरसबाट बच्न नागरिकहरुलाई अपनाउनुपर्ने सावधानीका बारेमा नियमित जानकारी दिइरहेको छ । प्रशासनले पनि सबै सार्वजनिक सवारीलाई भाइरसमुक्त गराउन स्टर्लाजेशन गराइरहेको छ । सीमामा चेकिङका अलावा उत्तर कोरियाका कस्टम अधिकारीहरु बन्दरगाहमा विदेशबाट आएका कन्टेनरहरुलाई १० दिनसम्म अलग स्थानमा राख्छन् ।
यद्यपि उत्तर कोरियाका यी तमाम सावधानीका बावजुद विश्वले उत्तर कोरियामा कोरोना भाइरसको एउटा पनि संक्रमित नभएको कुरा विश्वास गर्न सकेका छैनन् । खासगरी पश्चिमाहरुलाई यो कुरा विश्वास लागिरहेको छैन । अमेरिकाले त विश्वासका साथ उत्तर कोरियामा कोरोनाभाइरस संक्रमित भएको दावी गरिसकेको छ । दक्षिण कोरियामा अमेरिकी सेनाका कमाण्डर जनरल रोबर्ट अबराम्सले त १३ मार्चमा एक प्रेस ब्रिफिङका क्रममा भनेका थिए ‘उत्तर कोरियाको सेना करिब ३० दिनदेखि लकडाउनमा थियो र हालै उनीहरुले पुनः अभ्यास सुरु गरेका छन् । उनीहरुले विगत २४ दिनमा एउटा हवाइजहाज पनि उडाएनन् ।’
पश्चिमा मिडियाको दावी अनुसार दक्षिण कोरियासँगको सीमामा भारी सैनिकको उपस्थितिका कारण यहाँबाट कोरोनाभाइरस उत्तर कोरिया छिर्ने सम्भावना अत्यन्तै कम भए पनि चीनसँग जोडिएको १४२० किलोमिटर सीमाबाट यहाँ भाइरस छिर्ने प्रबल सम्भावना छ । चीन र उत्तर कोरियाबीचको सीमा वर्षौंदेखि तस्करीको रुटको रुपमा रहेको छ । चीन उत्तर कोरियाको मित्रराष्ट्र भएकोले यो सीमामा धेरै कडाइ हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियासँग जोडिएका चीनका लियानिंग र जिलिन प्रान्तमा कोरोनाभाइरसका २२५ संक्रमित भेटिएका छन् ।
उत्तर कोरिया बाँकी विश्व्को लागि निकै रहस्यमय ठाउँको रुपमा रहेको छ । बाँकी विश्वले उत्तर कोरियामा के भइरहेको छ भन्ने सहजै जान्न सक्दैनन् । यो देशले आफ्नो सरकारी मिडियाको माध्यमबाट यतिमात्र भनेको छ कि उसले हजारौं मानिसहरुलाई एकान्तमा राखेर तथा सामूहिक संक्रमण हुन नदिएर आफ्नो देशमा कोरोनाभाइरस आउन रोकेको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार कोरोना संक्रमण भएको आशंका गरिएका ५ हजार ४ सय जनालाई संक्रमण नपाइएपछि छोडिसकिएको छ र अहिलेसम्म कसैलाई पनि संक्रमण भेटिएको छैन ।
दक्षिण कोरियाका डाक्टरहरुले भने उत्तर कोरियाले कोरोनाभाइरस नफैलिएको दावी गर्नु वास्तविक समस्यालाई लुकाउने प्रयास हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरिया युनिभर्सिटीको इन्टरनल मेडिसिन डिपार्टमेन्टका प्रोफेसर किम सिन गनले ब्लुमबर्गसँग कुरा गर्दै भने ‘रिपोर्टिङको शैली यति आक्रामक छ कि हुन सक्छ उत्तर कोरियाका नागरिक कोरोनाभाइरस संक्रमित छन् । कुपोषणको समस्याले यो महामारीलाई फैलाउन सहयोग गर्नेछ ।’ त्यसो त उत्तर कोरियाले आफू कुनै भाइरससँग लड्न सक्षम भएको यसअघि नै प्रमाणित गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले २०१८ मा भाइरससँग सफलतापूर्वक लडेको भन्दै उत्तर कोरियाको प्रशंशा गरेको थियो ।
Facebook Comment