गौतमले कुलेश्वरको र गोयलले सिफलको आफ्नो घर निःशुल्क क्वारेन्टाइनका लागि दिने
काठमाडौं। काठमाडौंका लालचन्द्र गौतम तथा उनकी पत्नी वन्दना गौतमले आफ्नो कुलेश्वरस्थित घर क्वारेन्टाइनमा बस्न चाहने नेपाली वा विदेशीका लागि निःशुल्क दिने भएका छन् । उनीसँगै चिराग गोयलले पनि आफ्नो सिफलमा रहेको घर क्वारेन्टाइनमा बस्न चाहनेका लागि दिने भएका छन् । दुवैले फेसबुकमा पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् । पौडेलले हिजो बेलुकी तथा गोयलले आज बिहान फेसबुकमा आफ्नो घरको फोटोसहितको पोस्ट गर्दै यसको जानकारी दिएका हुन् ।
गौतमले फेसबुकमा लेखेअनुसार उनी यो घर बेच्ने तयारीमा छन् र यसको मर्मत भइरहेको छ । यो साढे ४ तल्लाको घरमा २ वटा फर्निचरसहितको बेड रुम, २ वटा किचेन, ३ वटा खाली बेडरुम र २ वटा लिभिङ रुम खाली अवस्थामा छन् । नेपाल सरकारले रातारात कोरोना भाइरसको लागि अस्पताल बनाउन नसक्ने भएकोले आफूले सहयोग गर्न चाहेको बताउँदै गौतमले यहाँ क्वारेन्टाइनमा बस्नेहरुको अन्य केही खर्च समेत व्यहोर्न तयार भएको उल्लेख गरेका छन् ।
आज बिहान चिराग गोयलले समेत आफ्नो सिफलस्थित घर क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागि दिने घोषणा गरेका छन् । उनले आफूले एक विदेशीले काठमाडौंमा आइसोलेसनमा बस्न चाहेको तर यसको लागि होटलको खर्च व्यहोर्न नसक्ने भन्दै सामाजिक संजालमा पोस्ट गरेको देखेपछि यस्तो निर्णय गरेको उल्लेख गरेका छन् । ९ कोठा ३ बाथरुम, २ टेरेस (जसलाई सजिलै कोठामा परिणत गर्न सकिन्छ) तथा पाल भएको खण्डमा ठूलो खाली ठाउँ रहेको यो घर पूरै खाली भएको उनले बताएका छन् । उनले यदि कसैले यो घर क्वारेन्टाइन वा आइसोलेसनको लागि प्रयोग गर्न चाहेमा प्रयोग गर्न सक्ने बताएका छन् ।
Facebook Comment