एसइई नियमित कार्यतालिकामै सञ्चालन हुन्छ : सञ्चारमन्त्री खतिवडा
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताए । उनले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको बताए ।
कोरोना भाइरको संक्रमण देखिएका मुलुकमा समेत परीक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परीक्षा सञ्चालन गर्ने संञ्चारमन्त्री खतिवडाले बताए ।
उनले भने, ‘एसइईलाई अहिले हामीले तालीकामै लैजाने भनेर शिक्षा मन्त्रालयले बक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरुमा पनि परीक्षा चाहिं नियमितै गर्नुभएको छ । त्यो परीक्षा गरिरहदाखेरी केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरकमा दुरीमा विद्यार्थीहरुलाई राखेर परीक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मिहरु खटाउन पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँ नेर भूमिका हुन्छ ।’
चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उनले बताए । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागि हुँदै छन् ।
Facebook Comment