कोरोना भाइरसः आतिहाल्नुपर्ने अवस्था छैन

डिसी नेपाल
५ चैत २०७६ १५:४४

काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोराना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रुप लिएको छ। विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिममा राखेको छ।

अहिलेसम्म नेपालमा ५ सय १२ जनाको कोरोना संक्रमण परीक्षण गरिएकोमा ५ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ। एक जनालाई कोरोना संक्रमण देखिएपनि उपचारापछि निको भइसकेका छन्।

कोरोना संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भरपुर प्रयास गरिरहेको जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनको आशंकामा ६ जना आइसोलेसनमा राखिएको छ। तीन जनाको नेगेटिभ रिपोर्ट आइसकेको छ भने बाँकी ३ जनाको पनि आजै साँझ ५ बजेसम्म रिपोर्ट आउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागरराज भण्डारीले बताए।

डा.सुन्दरमणि दीक्षितले मंगलबार मात्र नेपालमा कोरोना संक्रमण हुन सक्ने भन्दै परीक्षणको मात्रा नबढाएर सरकारले धोका दिएको र उपकरण पर्याप्त नभएको, भएका उपकरण पनि विश्वसनी नभएको आरोप लगाएका थिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमण देखिएमा र यसले चीनको अनुपातमा गति लिए १५ दिनलाई पुग्ने उपकरण रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले डिसी नेपाललाई बताए।

यसका साथै विश्व स्वस्थ्य संगठनले भने अनुरुप ज्वरो आएको, श्वास प्रश्वासमा समस्या हुने, खोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएका बिरामी संक्रमित क्षेत्रबाट आएकाको परीक्षण गरिरहेको उनले बताए।

‘सरकारले सबै रुघाखोकी लागेका बिरामीलाई परीक्षण गर्नु पर्दैन र गरेर साध्य पनि हुँदैन, शंकास्पद र संक्रमित क्षेत्रबाट आएकाको हामीले परिक्षण गरिरहेका छौँ,’ उनले भने, ‘त्यसैले आत्तिहाल्ने अवस्था छैन।’ परीक्षण गर्ने उपकरण पनि विश्व स्वस्थ्य संगठनको मापदण्द अनुरुप रहेकाले शंका गरेर जनमानसमा त्रास नफैलाउन उनले आग्रह समेत गरे।

कोरोन भाइरसबाट बच्न सरकारले पनि आईसीयू बेड र आइसोलेटेड बेड व्यवस्थापनबारे निर्णय गरेको छ। आयूर्वेद अस्पताल कीर्तिपुरमा २००, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा २२०, खानेपानी तालिम केन्द्रमा ६०, टेकु अस्पताल १००, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका अस्पतालहरुमा १०० र इचंगुनारायाणस्थित सैनिक ब्यारेकमा २५० आइसोलेटेड बेड व्यवस्थापन गर्ने निर्णय उच्चस्तरीय समितिले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *