प्रहरीले जफत गरेको मास्क भोलीबाट बजारमा आउँदै
काठमाडौं। कालोबजारी गर्नेहरुबाट प्रहरीले विभिन्न समयमा जफत गरेको फेस मास्क बिहीबारबाट बजारमा आउने भएको छ। कोरोना नियन्त्रणका लागि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिले बुधबार जफत गरिएको मास्कबारे निर्णय गरेको छ।
प्रहरीसँग करिब २० लाखभन्दा धेरै पिस फेस मास्क रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले भने, ‘साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत जफत गरिएको मास्क बजारमा भोलीबाट जान्छ।’
कोरोनाको त्रासका कारण बजारमा फेस मास्क र सेनिटाइजरको कालोबजारी शुरु भएपछि प्रहरीले विभिन्न स्थानमा छापा मारेर लाखौं पिस मास्क बरामद गरेको थियो। प्रहरीसँग जफत गरिएको मास्क थन्किएको र बजारमा मास्कको अभाव भएपछि महान्याधिवक्ता अग्नि खरेलले प्रहरीलाई निर्देशन दिँदै जफत गरिएको मास्क बजारमा बठाउने बाटो खुला गरिदिएका थिए। प्रहरीले जफत गरिएको सामान कानूनी प्रक्रिया पुरा नगरी बजारमा पठाउन नसक्ने भएपछि महान्याधिवक्ताले कानूनी सहजता गरिदिएका थिए।
त्यसपछि मास्क बेचेर आउने रकम प्रहरीको धरौटी खातामा जम्मा हुने गरी मास्क बजारमा पठाउन लागिएको हो।
Facebook Comment