राष्ट्रियसभा बैठकः कोरोना भाइरसको मिलेर सामना गर्न सुझाव

डिसी नेपाल
६ चैत २०७६ १५:४७

काठमाडौं। राष्ट्रियसभा सदस्यहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको कामको प्रसंसा गर्दै राजनीतिक दल, संघ संस्था, उद्योग व्यवसायी, नागरिक समाजलगायत सबै निकायसंग मिलेर थप रणनीति बनाउन सुझाव दिएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कोरोना भाइरस संक्रमणको संकटको सामना गर्न सबैसँग हालेमालो गर्नुपर्नेमा जोड दिएका हुन्।

राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले दक्षिण पूर्वी एसियामा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्नका लागि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको भएपनि त्यो पूर्ण नभएको बताए। उनले कोरोना भाइरस संक्रमणले निम्त्याएको चुनौतीको सामना गर्न सरकार, राजनीतिक पार्टी र सबै जनता एक भएर सजकता अपनाउनुपर्ने बताए।

उनले भने, ‘सरकार, राजनीतिक पार्टी र सबै जनता एकताका साथ सजकताले यो चुनौतीको सामना गर्न सक्ने ठाउँमा छौँ। यसका लगि सबै राजनीतिक पार्टी, जनता र विशेष गरी सरकारले पहल लिन जरुरी छ।’

उनले सीमा अतिक्रमण पनि अहिलेको मुख्य चुनौतीका रुपमा रहेको बताए। उनले नेपाल भारतबीच भएका सम्झौता अन्तर्गत कोसी सम्झौतामा भएका कुराहरु वर्षौं बित्दा समेत पूरा नभएको तथा २०१८ सालबाट २०२८ सालसम्म कोसी डुबान र कटानमा परेका जनताले अहिलेसम्म सहमति अनुसारको राहत पाउन नसकेको बताए।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले कोरोना संक्रमणबाट जोगिन सरकारले गरेको प्रयासको प्रसंसा गर्दै संकटको सामना गर्न सबैलाई हातेमालो गर्न आग्रह गरे। उनले नेपाल आउने सबै नाकाहरु बन्द गर्दे गर्दा सर्तकतामा ठूलो सहयोग मिलेपनि गल्फ लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु नेपाल फर्कन चाहेमा, त्यही उनीहरु संक्रमित भए के गर्ने भन्ने तयारी गर्न सरकारको ध्यानाकर्षण गराए। उच्च जोखिममा रहेको व्यक्तिको पहिचान गरी उनीहरु लक्षित आवश्यक कार्यक्रम गर्नुको साथै आपूर्तिलाई सहज बनाउने तर्फ प्रभावकारी काम गर्न पनि उनले आग्रह गरे।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले कोरोना भाइरस विरुद्ध सरकारले अघि सारेका कार्यक्रमहरु पर्याप्त नभएको धारणा राखे। वर्तमान संकट समाधानका लागि सरकार एक्लो प्रयास मात्रै प्रभावकारी नहुने भन्दै उनले सम्पूर्ण राजनीतिक दलहरु एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताए।

उनले भने, ‘विश्व नै आक्रान्त बनेको अवस्थामा सरकारले सतर्कताका लागि अगाडि बढाएका कार्यक्रम सही छन् तर यसले मात्रै पुग्दैन यसलाई गम्भिर रुपमा लिएर अगाडि बढ्नुपर्छ।’

राष्ट्रियसभा सदस्य कोमल वलीले आफू र बाँच र अरुलाई बाँच्न देउ भन्ने मुल मर्म सहित संकटको मेला सबैसँग हातेमालो गरी समस्या समाधानमा जुट्न आग्रह गरिन्। मुलुक अप्ठ्यारो परेको बेला दैनिक उपभोग्य वस्तु कृतिम अभाव देखाएर कालोबजारी भएको उल्लेख गर्दै उनले अप्ठ्यारोमा सद्भाव देखाई हातेमालो गरेर मानवीयता देखाउन उनले सबैलाई आग्रह गरिन्।

राष्ट्रियसभा सदस्य नयनकला ओझालेने कोरोना भाइरसको महामारीले विश्व समुदायनै त्रसित भएको अवस्थामा खुल्ला सिमानाबाट हुने मानिसको आवातजावत पूर्ण रुपमा बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन्।

राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले कोरोनाको कारण देखाउदै कतारबाट २ सय ५० जना नेपालीलाई अमानविय रुपमा नेपाल फर्काइएको र उनीहरुको अवस्था बारे सदनलाई जानकारी गराउन माग गरिन्। विश्वस्वास्थ्य संगठनले कोरोना संक्रमणबाट बच्नका लागि आईसोलेट, परीक्षण र संक्रमितको सम्पर्कमा आउनेको ट्रयाक गरी उनीहरुको पनि परीक्षण गर्न भनेको उल्लेख गर्दै त्यसतर्फको तयारीका लागि सरकारको ध्यानाकर्षण गराइन्। उनले स्वास्थ्यकर्मीलाई जनचेतना, सूचनाको सही प्रवाह, पर्यटन व्यवसायी र आम सर्वसाधरणलाई सामाजिक संरक्षणको प्याकेज ल्याउन र संकटको बेला आपुर्ति व्यवस्थालाई प्रभावकारी बनाउन माग गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *