विश्वभरी यसरी अघि बढिरहेको छ कोरोनाभाइरसको औषधी र भ्याक्सिनको खोजी र परीक्षण

डिसी नेपाल
७ चैत २०७६ १०:५०

काठमाडौं। नोवेल कोरोनाभाइरस अर्थात वैज्ञानिक नाम कोभिड–१९ भएको भाइरसले पछिल्लो समय पूरै विश्वलाई नै आक्रान्त बनाएको छ । अहिलेसम्मको प्रमाणित जानकारीअनुसार २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलोपटक देखिएको मानिएको यो भाइरसको संक्रमण झण्डै १८० देशमा फैलिएको छ र झण्डै ९ हजारले यसबाट ज्यान गुमाएका छन् । २ लाख २० हजार भन्दा बढी संक्रमित भएका छन् ।

भाइरसको संक्रमण बढेसँगै विश्वभरका वैज्ञानिकहरु यसको भ्याक्सिन र औषधीको विकासमा जुटेका छन् । विश्वभरमा दर्जनभन्दा बढी ठूला अनुसन्धान संस्थाहरुले यसको भ्याक्सिन विकसित गर्न प्रयासरत रहेको जनाएका छन् । केहीले भ्याक्सिन बनाइसकेको दावी गरे पनि उनीहरुले विकसित गरेका भ्याक्सिनहरुको ‘क्लिनिकल ट्रायल’ र ‘ह्युमन ट्रायल’ हुन बाँकी नै छ । विकसित भ्याक्सिन र औषधीहरुले यी सबै परीक्षणबाट गुज्रिँदै सफलतापूर्वक प्रभावकारी भएको मान्यता पाउन अझै १ वर्षदेखि १८ महिनासम्मको समय लाग्ने वैज्ञानिकहरु बताउँछन् ।

भाइरस फैलिएको ३ महिना बितिसक्दा अहिले यसको भ्याक्सिनको खोजी विश्वव्यापी प्रतिस्पर्धा भइसकेको छ । चीनमा मात्र १ हजार वैज्ञानिकहरु यसको भ्याक्नि र औषधी पत्ता लगाउन जुटेका छन् । ‘चीन अरु देशहरुभन्दा ढिलो हुन सक्दैन’ चाइनिज एकेडेमी अफ साइन्सका बायोलोजिकल प्रोडक्ट क्वालिटी कन्ट्रोल एक्सपर्ट वाङ जुनझीले मंगलबार बेइजिङमा एक पत्रकार सम्मेलनमा भने ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फार्मास्युटिकल प्रतिनिधिहरुसँगको बैठकमा भ्याक्सिनको आपूर्तिमा अमेरिकाको नियन्त्रण हुने सुनिश्चित गर्न अमेरिकाको जमिनमै भ्याक्सिन उत्पादन हुने निश्चित गर्न निर्देशन दिएको अमेरिकी मिडिया न्यूयोर्क टाइम्सले लेखेको छ । उता जर्मनीका अधिकारीहरुले भने ट्रम्पमाथि उनले जर्मन कम्पनी क्युरभ्याकलाई आफ्नो अनुसन्धानबाट बनेको भ्याक्सिनको अधिकार अमेरिकालाई दिन लोभ्याएको आरोप लगाएका छन् । यद्यपि कम्पनीले भने ट्रम्पबाट यस्तो अफर आएको अस्वीकार गरेको छ । त्यही दिन एउटा चिनियाँ कम्पनीले पनि भ्याक्सिनका लागि अर्को जर्मन कम्पनी बायोएनटेकलाई १३३.३ मिलियन डलरको अफर दिएको न्यूयोर्क टाइम्सले दावी गरेको छ ।

विश्वभरीमा अग्रणी फर्मास्युटिकल कम्पनीका प्रतिनिधिहरुले बिहीबार आफूहरुले मिलेर भ्याक्सिन र औषधी खोज्न प्रयास गरिरहेको बताएका छन् । तर, उनीहरुले सरकारलाई भ्याक्सिन विकसित भइसकेपछि यसलाई आफ्नो खजाना नठान्न आग्रह गरेका छन् । यसो गर्नु कोरोनाभाइरस रोक्ने विश्वव्यापी लक्ष्यका लागि हानिकारक हुने उनीहरुले बताएका छन् । ‘म सबैलाई यो जालमा नफस्न आग्रह गर्दछु । सबै मेरो देशमा होस् र म सीमा बन्द गर्छु भन्ने नसोचौं’ स्विजरल्याण्डको फर्मास्युटिकल कम्पनी रोचीका प्रमुख कार्यकारी सेभेरिन सेवानले भने ।

‘भ्याक्सिन स्वस्थ मानिसहरुलाई दिइने भएकोले हामीले सुरक्षा सुनिश्चित गर्नुपर्छ’ फ्रान्सको सानोफी पास्चरका भाइस प्रेसिडेन्ट डेलिड लोले भने । उनले आफ्नो कम्पनीले भ्याक्सिन विकसित गर्नको लागि अमेरिकाको इली लिली र जोनसन एण्ड जोनसन, जापानको रोची र टाकेडा कम्पनीसँग सहकार्य गरिरहेको जानकारी दिए ।

भ्याक्सिन विकसित गरिसकेपछि यसको परीक्षण सुरु गर्ने काममा अहिलेसम्म सबैभन्दा अगाडि अमेरिकी वैज्ञानिक देखिएका छन् । अमेरिकी अनुन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरेका छन् । उनीहरुले यही मार्च १६ तारिख सोमबारका दिन परीक्षणमा सहभागी स्वयंसेवीहरुलाई भ्याक्सिनको पहिलो मात्रा दिएको समाचार एजेन्सी एपीले लेखेको छ । केसर परमानेन्टे वाशिङटन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरुले ४ जना स्वयंसेवीलाई खोपको पहिलो मात्रा सुइमार्फत दिएका हुन् ।

‘हामी अब टिम कोरोनाभाइरस हौं’ केसर परमानेन्टेकी अनुसन्धान टिमकी प्रमुख डा. लिसा ज्याक्सनले पहिलो मात्र खोप दिएपछि भनेकी थिइन् ‘सबैले यो आकस्मिक अवस्थामा आफूले सकेको गर्न चाहन्छन् ।’ परीक्षणमा स्वयंसेवकको रुपमा खोपको पहिलो मात्रा लिएकी ४३ वर्षकी जेनिफर हलरले भनिन् ‘हामी निराश भइसकेका थियौं । मेरो लागि केही गर्न यो अद्भूत अवसर हो ।’

खोप लिइसकेपछि उनले ठूलो मुस्कानका साथ परीक्षण कक्ष छाड्दा भनिन् ‘गजबको अनुभूति भइरहेछ ।’ सोमबार उनीपछि थप ३ जनालाई खोपको पहिलो मात्रा दिइयो । यो परीक्षणमा १ महिनाको अवधिमा ४५ जना स्वयंसेवकलाई खोपको २–२ मात्रा दिने कार्यक्रम छ । सोमबारको कोसेढुंगा त्यो अभियानको सुरुवात मात्र हो जसले यो खोप सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने मानवमा परीक्षणपछि प्रमाणित गर्छ । यदि यो परीक्षण सफल हुँदै गएमा पनि खोप विश्वव्यापी प्रयोगका लागि उपलब्ध हुन अझै १२ देखि १८ महिनाको समय लाग्ने अमेरिकन नेशनल इन्स्टिच्युट अफ हेल्थका डा. एन्थोनी फाउसीले बताए ।

अमेरिका र बेलायतका वैज्ञानिकहरुको अर्को एक टिमले पनि कोभिड–१९ विरुद्ध भ्याक्सिन बनाएको जानकारी दिएका छन् । उनीहरुले अप्रिलको सुरुदेखि अमेरिका र बेलायतमा कोरोनाभाइरसविरुद्ध खोपको मानवमा परीक्षण गर्ने अपेक्षा गरिएको छ । यो खोप युनिभर्सिटी अफ लण्डन तथा अमेरिकी औषधी कम्पनीहरु मोडर्ना र इन्भोइयोले मिलेर बनाएका हुन् । युनिभर्सिटी अफ लण्डनसँग सम्बन्धित इम्पिरियल कलेजका वैज्ञानिक तथा अमेरिकी औषधी कम्पनी दुवै अप्रिलदेखि परीक्षणका लागि तयार रहेको डेलीमेलको समाचारमा जनाइएको छ

अमेरिकी औषधी कम्पनीले विश्वविद्यालयसँग संयुक्त रुपमा ह्युमन ट्रायलको साथमा आफ्नो तर्फबाट छुट्टै अर्को ह्युमन ट्रायल पनि गर्ने जनाएको छ । इम्पिरियल कलेज लण्डनका वैज्ञानिक प्रोफेसर रबिन शेटकले बताएअनुसार कुनै पनि भ्याक्सिनले सुरुमा भाइरसलाई केवल रोक्न सक्छ ताकि रोग धेरै नफैलियोस् र मानव शरीरमै भाइरस निकै कमजोर बनोस् । त्यसपछि यस्तो भ्याक्सिन खोजिन्छ जसले मानव शरीरमा रहेको भाइरसलाई मार्न सकोस् वा मानव शरीरका कोषिकालाई भाइरससँग लड्न र हराउन लायक बनाओस् ।

प्रोफेसर शेटकका अनुसार यदि मानवमा परीक्षण सफल भएमा सबैभन्दा पहिले ती देशमा भ्याक्सिन पठाइनेछ जहाँ मानिसहरु संक्रमित भइसकेका छन् ताकि संक्रमित भइसकेकाको उपचार होस् । अमेरिकी कम्पनी इन्भोइओले यदि परीक्षण सफल भएमा यस वर्ष १० लाख डोज औषधी बनाएर विश्वभर बाँड्ने जनाएको छ । प्रोफेसर शेटकका अनुसार अहिले बनाइएको भ्याक्सिनमा २००३ मा फैलिएको सार्सको औषधी पनि मिश्रण गरिएको छ ।

उता लण्डनको ह्वाइटच्यापलका वैज्ञानिकहरुले पनि कोरोनाभाइरसको भ्याक्सिन बनाइसकेको दावी गर्दै क्लिनिकल परीक्षणका लागि २४ जना स्वयंसेवीको माग गरेका छन् । वैज्ञानिकहरुका अनुसार जो यो प्रयोगमा आएर खोपको परीक्षण आफ्नो शरीरमा गराउनेछन् उनलाई ३५०० पाउण्ड (५ लाख ३८ हजार नेपाली रुपैयाँ) पुरस्कार दिइनेछ । तर, यसको लागि परीक्षणमा सहभागी हुनेले पहिले आफूलाई कोरोनाभाइरसबाट संक्रमित गराउनुपर्नेछ ।

बेलायती पत्रिका डेलिमेलको समाचारअनुसार लण्डनको ह्वाइटच्यापलस्थित द क्वीन मेरी बायोइन्टरप्राइजेज इनोभेसन सेन्टरका वैज्ञानिक आफ्नो यो प्रयोगका लागि २४ जनालाई भर्ना गर्दैछन् । यी २४ जनामा कोरोनाभाइरसको भ्याक्सिनको परीक्षण गरिनेछ । जुन भ्याक्सिनको परीक्षण यी २४ जनामा गरिनेछ त्यसमा सार्स रोगको औषधी पनि मिसिएको छ ।

यो परीक्षणमा सहभागी हुनेहरुको शरीरमा सुरुमै कोरोनाभाइरसको कमजोर स्ट्रेन हालिनेछ । त्यपछि भाइरस बढ्ने प्रतिक्षा गरिनेछ । भाइरस बढ्न थालेपछि बिरामीलाई भ्याक्सिन दिइनेछ । यो परीक्षणका क्रममा एचभीभो कम्पनीले बनाएको औषधीको प्रयोग गरिनेछ । परीक्षणका लागि बोलाइएका २४ जनालाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिनेछ । यो १४ दिनमा वैज्ञानिकहरुले औषधीको प्रभावको अध्ययन गर्नेछन् ।

इजरायलको एक अनुसन्धान संस्थाले पनि कोभिड–१९ विरुद्ध भ्याक्सिन बनाउने काममा सफलता पाएको दावी गरेको छ । इजरायलको इन्टिच्युट फर बायोलोजिकल रिसर्चका वैज्ञानिकहरुले यो खतरनाक भाइरसको तोड पत्ता लगाएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । वैज्ञानिकहरुका अनुसार खोप तयार भइसकेको छ र छिटै यसले आधिकारिकता पाउनेछ । इजरायलका रक्षा मन्त्री नेफटाली बेनिटले पनि आफ्ना वैज्ञानिकहरुले यो भाइरसमाथि शोध गरेर भाइरसको प्रकृति पहिचान गरेको जनाएका छन् । भाइरसको जैविक तन्त्रमा गहन अध्ययन गरेर यसको पहिचान गर्ने काममा सफलता हासिल भएको उनले बताए ।

संस्थानका ५० भन्दा धेरै अनुभवी वैज्ञानिक भाइरसको भ्याक्सिन बनाउने काममा खटेको बताइएको छ । अब यो भ्याक्सिनलाई चीनको औषधी नियामक निकाय र अमेरिकाको खाद्य एवं औषधी प्रशासनमा पठाइनेछ । त्यहाँबाट पनि यसको प्रभावकारिता प्रमाणीकरण भएपछि यलाई कोरोनाप्रभावित क्षेत्रमा पठाइनेछ । रिपोर्टअनुसार ३ हप्ता पहिले जापान, इटली लगायतका देशबाट कोरोनाभाइरसको नमूनाका ५ शिपमेन्ट इजरायल पुर्याइएको थियो । यही नमूनामा अध्ययन गरेर भ्याक्सिन तयार गरिएको हो ।

सबैभन्दा पहिले कोरोनाभाइरसको भ्याक्स्नि पत्ता लगाएको दावी भने चीनले नै गरेको थियो जो यो भाइरसको पहिलो इपिसेन्टर पनि हो । चीनको तियानजिन विश्वविद्यालयले यसको ओरल (खाने) भ्याक्सिन आविष्कार गरेको दावी गरेको थियो । यो भ्याक्सिनको विकास गर्ने वैज्ञानिक प्रोफेसर हुआङ जिन्हाइले स्वयं यो भ्याक्सिनको ४ डोज लिएको र कुनै पनि किसिमको साइड इफेक्ट महसुस नगरेको चीनको मिडिया ग्लोबल टाइम्सले उल्लेख गरेको थियो । विश्वविद्यालयले यसको क्लिनिकल परीक्षण र अन्य कामको लागि पार्टनरको खोजी गरिरहेको रिपोर्टमा उल्लेख थियो ।

यो भ्याक्सिनले शरीरमा कोरोनाभाइरससँग लड्नको लागि प्रतिरक्षा एन्टिबडीको निर्माण गर्ने विश्वविद्यालयको भनाइ छ । प्रोफेसर हुआङको टिमले यो भ्याक्सिनको क्याप्सुल, मिल्क ट्याब्लेट र ग्रानुलर फर्मुलेसनको रुपमा नमूना तयार पारेको छ । यो अनुसन्धान निकट एक स्रोतले चिनिया मिडिया ग्लोबल टाइम्सलाई बताएअनुसार प्रोफेसर हुआङले अनुसन्धानको क्रममा पब्लिस्ड आरएनए (राइबोन्युक्लिक एसिड)मा आधारित रिसेप्टर फेला पारेका थिए ।

विकासकर्ता वैज्ञानिक प्रोफेसर हुआङले ग्लोबल टाइम्ससँग कुरा गर्दै ‘यो भ्याक्सिन सफलतापूर्वक विकास भएको भए पनि क्लिनिकल ट्रायल पार गर्न बाँकी रहेको’ बताएका थिए । उनका अनुसार उनले पहिले जनावरका लागि यो भाइरसविरुद्धको भ्याक्सिन बनाएका थिए जुन प्रभावकारी भएपछि यसले उनलाई मानवका लागि पनि भ्याक्सिन विकास गर्न प्रेरित गरेको थियो । यद्यपि यो भ्याक्सिनले आफ्नो प्रभावकारिता पुष्टि गर्न ‘टेस्टिङ’ पार गर्नुपर्ने उनले बताए ।

भ्याक्सिनको विकासका लागि प्रयास भइरहेका बेला यसबाट संक्रमित भइसकेकाहरुका लागि औषधीको पनि खोजी भइरहेको छ । यही बीचमा बुधबार मात्र चीनका स्वास्थ्य निकायले जापानमा इन्फ्लुएन्जाको नयाँ स्ट्रेनको उपचारमा प्रयोग गरिएको औषधि कोरोनाभाइरस पीडित बिरामीमा प्रभावकारी रहेको बताएको सिन्ह्वाको समाचारमा उल्लेख छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारी झाङ जिनमिनका अनुसार चीनको वुहान र सेनझेनमा ३४० बिरामीमा गरिएको क्लिनिकल ट्रायलमा फुजीफिल्मको सहायक औषधिको रुपमा विकास गरिएको फ्याभिपिराभिरले प्रभावकारी नतिजा देखाएको छ ।

‘यसको सुरक्षाको मात्र धेरै छ र उपचारमा स्पष्ट रुपमा प्रभावकारी देखिएको छ’ झाङले मंगलबार रिपोर्टरहरुसँग भने । कोरोनाभाइरस पोजेटिभ देखिएका सेनझेनका बिरामीहरु यो औषधी दिइएको ४ दिनपछि नेगेटिभ देखिएका छन् । यो औषधिबाट उपचार नगरिएका अन्य बिरामीहरु भने ११ दिनपछि मात्र नेगेटिभ देखिएका छन् ।

एक्स रे रिपोर्टमा पनि यो औषधिबाट उपचार गरिएका बिरामीको फोक्सोको अवस्थामा ९१ प्रतिशत सुधार देखिएको छ जबकि यो औषधिबिना उपचार गरिएका अन्य बिरामीको फोक्सोको अवस्थामा ६२ प्रतिशत मात्र सुधार देखिएको छ । एभिगान नामबाट समेत चिनिने यो औषधी २०१४ मा विकास गरेको कम्पनी फुजीफिल्म तोयामा केमिकलले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । झाङको प्रतिक्रियासँगै स्टक मार्केटमा यो कम्पनीको शेयर मूल्यमा ह्वात्तै वृद्धि भएको छ ।

जापानका डाक्टरहरुले पनि सामान्यदेखि मध्यम लक्षण देखिएका बिरामीहरुमा यही औषधि प्रयोग गरिरहेका छन् । तर, जापानी स्वास्थ्य मन्त्रालयको एक स्रोतका अनुसार यो औषधी गम्भीर लक्षण देखिएका बिरामीमा भने प्रभावकारी देखिएको छैन । ‘हामीले ७० देखि ८० जनामा एभिगान प्रयोग गरेका छौं तर यसले भाइरस पहिल्यै अत्याधिक बढिसकेको अवस्थामा काम गरेको देखिएको छैन’ स्रोतले माइनिची शिमबनसँग भने । स्रोतका अनुसार एचआइभी एन्टिरेट्रोभाइरल लोपिनाभिर र रिटोनाभिसको प्रयोग गरेर गरिएको अध्ययनमा पनि यस्तै किसिमका सीमितताहरु देखिएका छन् ।

२०१६ मा जापान सरकारले गुयनामा इबोलाको उपचारको लागि आकस्मिक औषधीको रुपमा फ्याभिपिराभिर पठाएको थियो । यो औषधि मूल रुपमा फ्लुको उपचारको लागि बनाइएकोले यसलाई कोरोनाभाइरसको उपचारमा पूर्ण मात्रामा प्रयोग गर्न सरकारले अनुमति दिनुपर्छ । एक अधिकारीले माइनिचीसँग भनेअनुसार यो औषधीलाई सरकारले मे महिनाअघि नै अनुमति दिन सक्छ । ‘तर क्लिनिकल रिसर्चको अनुसन्धान ढिलाइ भएमा अनुमतिमा पनि ढिलाइ हुन सक्छ’ उनले भने ।




प्रतिक्रिया

One thought on “विश्वभरी यसरी अघि बढिरहेको छ कोरोनाभाइरसको औषधी र भ्याक्सिनको खोजी र परीक्षण

  1. केटी भएर , त्यस्तो ब्यबहारिक हुुना पर्छ। नेपाली समचार बाचन :- केटी भनेको श्री पांडये जस्तो ब्यबहारिक हुना पर्छ। हामीले उनिको इंटरभिउ हेरेको थिएउ :- उनीले भनेको थिइन , ” केटा मान्छे भनेको खासै राम्रै चाहिन्छ भन्ने पनि होईना , बुझेको गरेर खाने ” भनेको थिईन। हो त्यस्तो हो मान्छे भनेको। (१) अब हाम्रो बिचार :- केटो राम्रो छ रे , रूप चाट्ने होईन कसैको। राम्रो मान्छे घमन्डी हुन्छन। (२) राम्रो राम्रो केटा केटी बाट , नराम्रो बच्चा पनि जन्मीन सक्छ :- हेर्दा खाशै नराम्रा बाबु आमाका छोराछोरी सुन्दर र राम्रा पनि जन्मिन सक्छन :- उदाहरणको लागि , Miss World का छोरा छोरी कहिले पनि miss world भएका छैनन। (४) सुन्दर , ह्याण्डसम , राम्रै किन खोजने ??? आफै भेटिए ठिकै छ , हैना भने , त्यस्तो तीर लाग्ने नै होईना। (५) जस्तो पनि हुन्छ जीवनसाथी :- रोजेको , खोजेको हैना , भेटिएको सुखद र राम्रो हो। (५) जस्तो पनि हुन्छ जीवनसाथी : – कस्ता कस्ता जोडीहरु देखिएको छ :- सर्लक्क परेको राम्रो श्रीमान , श्रीमती नराम्री तैपनि हासी ख़ुशी सुखद पुर्बक जीवन चलाएकै छन , तिनैका छोरा छोरी गतिला छन। (७) जस्तो पनि हुन्छ जीवन साथी : – मान्छे नै हो। जनावार हैना। बाहिरा हेर्दा राम्रा, घमन्डी हुन्छन , कत्ति त अगतिला हुन्छन। (8) आफ्नो जीवनसाथी , मानी लिउ , नराम्रो छ रे :- आफु राम्रो भएर , आफ्नो जीवनसाथीलाई राम्रो गर्न सकिन्छ। त्यो पनि त राम्रो काम हो नि :- म जति सुन्दर छू , त्यो भन्दा राम्रो हुनपर्छ भन्ने हरुको तेति राम्रो पनि भको हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *