नेपाल भारत सीमा क्षेत्रमा सेनाको हेल्थ डेस्क स्थापना
काठमाडौं । नेपाल, भारतका सीमा नाकाहरूमा नेपाली सेनाले हेल्थ डेस्क राखेको छ । भारतबाट नेपाल फर्किने व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण हुनसक्ने संभावनालाई ध्यानमा राखेर हेल्थ डेस्क राखेको हो । ‘स्वास्थ्यकर्मीहरुलाई विशेष सुरक्षा दिएर हेल्थ डेस्क राखिएको छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाले कोरोना भाइरसको संक्रमणबाट बच्न भइरहेका प्रयास र हरेक हेल्थ डेस्कहरूको अवस्थाका बारेमा जानकारी दिन मोबाइल एप्स तयार गरेको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार भारततर्फ ३८ वटा हेल्थ डेस्क स्थापना भएका छन् । ‘भारतीय सीमा क्षेत्रमा हामीले ३८ वटा हेल्थ डेस्क स्थापना गरेका छौ जस्ले भारतबाट नेपाल तर्फ आएका नेपालीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने गरिन्छ’, सहायक रथि पाण्डेले भने ।
यसअघि सशस्त्र प्रहरी र नेपाली प्रहरीले पनि सामान्य चेकजाँच गर्दै आएका थिए । तर उनीहरुले हेल्थ डेस्क नै भने स्थापना गरेका थिएनन । सरकारले सेनालाई हेल्थ डेस्क राख्न आग्रह गरिरहेको थियो । सोही अनुसार शनिवारबाटै ती डेस्कहरु स्थापना भएका हुन् । सुदुरपश्चिम प्रदेशका धेरै जसो नागरिकहरु रोजगारीका लागि भारतको विभिन्न स्थानमा गएका र उनीहरु कोरोनाको त्रासले घर फर्कने क्रम बढिरहेको छ ।
कोरोना भाइरसको थप संक्रमणको जोखिम न्युनीकरण गर्न कञ्चनपुरको गड्डाचौकी नाका बाहेक नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्न प्रयोग भएका कञ्चनपुरका सबै नाका बन्द भैसकेका छन् भने अन्य जिल्लाहरुका नाका पनि बन्द हुने क्रममा रहेका छन् ।
Facebook Comment