२.६ प्रतिशत आयात घट्दा २२ प्रतिशतले बढ्यो निर्यात

डिसी नेपाल
९ चैत २०७६ १६:१९

काठमाडाैं। आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालू आवको आठ महिनामा कूल रु नौ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार बराबरको आयात भएको छ ।

यो गत आवको तुलनामा करीब रु २५ अर्ब कम हो। आव २०७५/७६ को सोही अवधिमा कूल रु नौ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार बराबरको आयात भएको थियो।

यस्तै सोही अवधिमा कूल रु ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार बराबरको निर्यात भएको छ। आव २०७५/७६ का तुलनामा चालू आवको आठ महिनामा निर्यात कूल २२ दशमलव ३५ प्रतिशतले बढेको छ ।

सो आवमा कूल रु ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो। विभागका अनुसार मुलुकको कूल व्यापार रु नौ खर्ब ९९ अर्ब १५ करोड पाँच लाख ८१ हजार बराबर भएको छ।

गत आवमा भने रु १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार बराबरको व्यापार भएको थियो। पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढेपछि चीनबाट आयात हुने मालवस्तु रोकिएका छन्।

भारतबाट भइरहेको आयात भने रोकिएको छैन। विभागका अनुसार सबैभन्दा बढी आयात तथा निर्यातसमेत वीरगञ्ज भन्सारबाटै भएको छ।

चालू आवको आठ महिनामा सो भन्सारबाट कूल रु तीन खर्ब १५ अर्ब ४८ करोड १४ लाख १५ हजार बराबरको आयात भएको छ। प्रतिशतका आधारमा सो भन्सारको हिस्सा २३ दशमलब १३ रहेको छ। यस्तै सोही नाकाबाट कूल रु २३ अर्ब ७७ करोड ८० लाख पाँच हजार बराबरको निर्यात भएको छ।

विराटनगर भन्सारबाट कूल रु ९९ अर्ब ४८ करोड २० लाख २५ हजार बराबरको आयात भएको छ। सोही भन्सारबाट कूल रु २० अर्ब ९९ करोड ४१ लाख ४४ हजार बराबरको निर्यात भएको छ।

भैरहवा भन्सारबाट कूल रु एक खर्ब ५६ अर्ब ७७ करोड ५४ लाख ७३ हजार बराबरको आयात तथा रु दुई अर्ब २० करोड ९१ लाख १९ हजार बराबरको निर्यात भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट कूल रु एक खर्ब १७ अर्ब ६८ करोड १७ लाख ७७ हजार बराबरको आयात हुँदा रु एक अर्ब ७६ करोड बराबरको निर्यात भएको छ ।

उता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारबाट कूल रु ९८ अर्ब ७४ करोड २९ लाख २४ हजार बराबरको आयात हुँदा रु १६ अर्ब ४५ करोड २२ लाख २४ हजार बराबरको निर्यात भएको छ। देशभर कूल २४ भन्सार कार्यालय सञ्चालनमा छन् । त्यसमध्ये १४ भन्सार कार्यालयबाट हुने निर्यात भने शून्यःप्राय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *