विद्युतीय कारोबारको सीमा बढ्यो, मोवाइलबाट दैनिक एक लाखसम्म ट्रान्सफर
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न कारोबार सीमा बढाएको छ । भुक्तानी व्यवस्थापन विभागले आइतबार परिपत्र जारी गर्दै मोबाइल तथा इन्टरनेट बैंकिङ कारोबारको सीमा बढाएको हो ।
केन्द्रीय बैंकले मोबाइ बैंकिङ (क्युआर कोण समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा पनि प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख पु¥याएको छ ।
यसअधि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो । एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्न सीमा पनि बढाएको छ ।
यसअघि प्रति कारोबार ५ हजार, प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेकोमा अब प्रति कारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ ।
इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखेको छ । इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रहेको छ भने इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाखसम्म रहेको छ ।
यसअघि बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकले डिजिटल कारोबार निःशुल्क गर्ने घोषणा गरिसकेका छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखामा हुने भिडभाड र नगद कारोबारमा कोरोनाको जोखिम भएको डिजिटल कारोबार गर्न आग्रह गर्दै आएका छन् ।
Facebook Comment