‘कोरोनासँग डराउने होइन, उच्च मनोवलले लड्नुपर्छ’
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) यतिबेला विश्वमा महामारीको रुपमा फैलिएको छ। विश्वलाई तहस नहस बनाएको कोरोना भाइरसका नेपालमा पनि संक्रमित फेला परेका छन्।
कोरोना भाइरस विरुद्ध सरकारले उच्च सकर्तकता अपनाउन थालेपछि अधिकांशले कोरोनाको त्रासमा काठमाडौं छोडिसकेका छन्। कोरोनाको जोखिमबाट बच्न भन्दै सरकारले मंगलबारदेखि एकहप्ताका लागि पूरै नेपाललाई लकडाउन गरेको छ।
कोरोना विरुद्ध सरकारले देखाएको सक्रियताको प्रसंसा भइरहेको छ। कतिपयले भने सरकारले पूर्व तयारी विना अपर्झट निर्णय गरेको भन्दै सर्वधारणले गुनासो पनि गरेका छन्।
लामो दूरीको यात्रामा रोक लगाउनु र लकडाउन गर्दा आफूहरु मारमा परेको जनगुनासो आएको छ। पद्मकन्या कलेज अध्ययन गर्दै आएकी बाजुराकी एक छात्रा भन्छिन्, ‘घर टिकट पाइएन, जाने भन्दा भन्दै बन्द भयो। यहाँ बस्न पनि कोही पनि छैनन्। परिवार टाढा भएपछि डर लागेको छ।’
अहिलेको अवस्थामा बसपार्क, सार्वजनिक सवारी साधन जस्ता ठाउँमा भिडभाड नगर्नु राम्रो पक्ष भएपनि विपत्तिको समयमा परिवारसँग बस्न नपाउँदा आफू सुरक्षित नहरेको महसुस हुने उनको भनाइ छ।
एक सहकारीमा कार्यरत मालती राई भन्छिन्, ‘ घर जाउँ भने अफिस छुट्टी थिएन। एकपछि अर्को गर्दै सरकारी निर्णय आउन थालेपनि परिवारसँग बस्न पाइएन। आफ्नो परिवारसँग बसेको जस्तो किन हुन्थ्यो र विपत्तिको समयमा।’
पूरै नेपाल लगडाउन भएपछि के गर्ने, के नगर्ने भन्ने बिषयमा काठमाडौं बाहिर घर हुने धेरै सर्वसाधारण अन्योलमा परेका छन्। टाढा घर हुनेलाई यतिबेला ठूलो समस्या परेको छ। बिर्दियाका प्रनिल ढकालको पनि गुनासो यस्तै छ। ‘हुन त यसलाई नराम्रो भन्न हुन्न। तर हामी टाढा घर हुनेलाई समस्या छ, कोठामा केही रासन पनि भरिएको छैन। आपत आइलाग्यो भने के खाने के गर्ने तनाव थपिएको छ,’ उनले भने।
त्यसमाथि काठमाडौंमा कोरोना संक्रमित भेटिएपछि जनमानसमा थप त्रास बढेको छ। चितवनका १९ वर्षीया सपना रिजालले
काठमाडौंमा कोरोना संक्रमित भेटिएपछि त्रास बढेको सुनाइन्।
उनले भनिन्, ‘खै नेपालमा पनि कोरोना भेट्टिएको छ। त्यत्रा शक्तिशाली मुलुक कोरोना संक्रमणसँग लड्न सकिरहेका छैनन्। हाम्रो नेपालमा फैलियो भने नियनन्त्रण गर्न गाह्रो हुन्छ। त्यसमा पनि हामी सतर्कता अपनाउँदैनौं, गाउँमा त्यो माहोल नै हुँदैन, अर्को पीडा परिवार अलगिएर बस्नु को छ।’
Facebook Comment