झापामा एक व्यक्तिमा कोरोनाको आशंका, आन्तरिक उडान बन्द हुँदा नमूना परीक्षणमा समस्या

डिसी नेपाल
११ चैत २०७६ २०:१८

सुरुङ्गा । झापाको गौरादह नगरपालिकाका एक व्यक्तिलाई कोरोनाको आशङ्कामा आइसोलेशनमा राखिएको छ । फ्रान्सबाट कतार हुँदै यही चैत ४ गते नेपाल आएकी कोभिड–१९ द्वारा सङ्क्रमित किशोरीसँगै एउटै विमानमा नेपाल आएका उनलाई भद्रपुरस्थित मेची अस्पालतको आइसोलेशनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सचिव जीवन चौँलागाईंले जानकारी दिए ।

चिकित्सकको निगरानीमा राखिएका उनलाई कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि समस्या भएको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले बताए । “लकडाउनका कारण सबै आन्तरिक उडान बन्द छन्, नमूना परीक्षणका लागि सेम्पल कसरी पठाउने ?”, प्रतिप्रश्न गर्दै उनले भने, “दुई जना मात्रै कोराना सङ्क्रमणका बिरामी आए भने उपचार गर्न मुस्किल छ ।”

उनका अनुसार कोरोनाको सङ्क्रमण भए नभएको थाहा पाउन काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नमूना पठाउनुपर्ने हुन्छ । “सबै आन्तरिक उडान बन्द भएका कारण हामीलाई समस्या भएको हो”, उनले भने ।

यता भारतलगायत विभिन्न देशबाट आएका १६ नेपालीलाई मेची नगरपालिकाले धाइजनमा रहेको क्वारेन्टाइनमा राखेको छ । त्यस्तै विभिन्न देशबाट आएका ४० नेपालीलाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सचिव चौलागार्ईंले जानकारी दिए । उनका अनुसार बुद्धशान्ति गाउँपालिकामा १३, भद्रपुरमा ७, विर्तामोडमा १, झापामा १४, हल्दिबारीमा २, अर्जुनधारामा २ र दमकमा एक जना होम क्वारेन्टाइनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *