कोरोना संक्रमण नियन्त्रण गर्न उपप्रमुखको संयोजकत्वमा समिति
पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि समिति गठन भएको छ । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार बिहान बसेको बैठकले समिति गठन गरेको हो ।
समितिका सदस्यमा वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, वडा नम्बर २६ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा, वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारी, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, मोहन बाँस्तोला र सदस्य सचिवमा अधिकृत किरण कोइरालालाई चयन गरिएको छ ।
बैठकले पोखरा महानगरमार्फत क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि पोखरा– १९ का वडाध्यक्ष पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । समितिले क्वारेन्टाइनका लागि आवश्यक सामग्रीको ब्यवस्थापन गर्ने छ । समितिका सदस्यमा लक्ष्मीप्रसाद पौडेल, भरतराज पौडेल, फूलदेव तिमिल्सेना र अर्जुनबहादुर खत्री क्षेत्री रहेका छन्।
महानगरपालिकाले पोखराका दुई ठाउँमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सिर्जनाचोकमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय र नदीपुरमा पद्म नर्सिङ होमको स्वामित्वमा रहेको (पुरानो वृद्ध) हस्पिटलमा ५० शय्याको क्वारेन्टाइन अस्पताल आजै दिनभरिमा तयार गर्ने निर्णय गरेको छ ।
दुवै अस्पतालमा आवश्यक शय्यालगायत उपचारका सामग्री तयारी अवस्थामा रहेकाले अन्य बाँकी काम पूरा गरेर बुधबारदेखि नै सञ्चालनमा ल्याइने महानगर उपप्रमुख गुरुङले बताए ।
Facebook Comment