कोरोना भाइरसको महामारीबीच भारतमा २२ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

डिसी नेपाल
१३ चैत २०७६ २१:०२

नयाँ दिल्ली (एजेन्सी)। कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको एउटा आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिबहरूलाई सघाउने बताइएको छ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमण आफूहरूले कोही पनि भोको र बेखर्ची भएको देख्न नचाहेको बताइन्। उक्त प्याकेजमा निः शुल्क खाना र आर्थिक सहायता समेटिएको छ। त्यो तत्काल आवश्यकतामा रहेकाहरूलाई दिइने अर्थमन्त्री सीतारमणले बताइन्। उनले स्वास्थ्यकर्मीहरूले ६६,५०० डलरसम्म स्वास्थ्य बीमा पाउने बताइन्।

संवाददाताहरूको भनाइमा यसमा खर्च हुने रकम भारतको कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत जति हो। जबकी अमेरिका र सिङ्गापुरले त्यस्तै कार्यक्रमका लागि जीडिपीको १० प्रतिसतसम्म खर्च गरेका छन्। तर उनीहरूले यो भारत सरकारको पहिलो चरणको राहत कार्यक्रम हुनसक्ने समेत बताए।्

भारतका १ अर्ब ३० करोडजति मानिसहरू लकडाउनका बीच घरभित्रै बसिरहँदा त्यहाँको अर्थतन्त्र गम्भीर मन्दीतर्फ जाने क्रममा छ। त्यहाँ दशौँ लाख अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक छन्।

भारतको श्रमशक्तिको त्यो एउटा महत्त्वपूर्ण क्षेत्रले अहिले सबैभन्दा ठूलो प्रभाव सामना गरिरहेको छ। लकडाउन र सामाजिक दूरी कायम राख्न भनिएपछि दैनिक आम्दानीमा निर्भर रहने धेरै मानिसहरूलाई असर पर्ने र उनीहरूको दैनिक खानपानमै समस्या पर्न सक्ने धेरैको चिन्ता छ।

बीबीसी संवाददाता सौतिक विश्वास भन्छन्( भारतमा लकडाउन अझै सुरुवाती अवस्थामा छ र अवस्थामा सुधार पनि आउन सक्छ।

तर यो ब्रिटिश शासन अन्त्यपश्चात् सन् १९४७ मा भएको रक्तपातपूर्ण विभाजनपछिकै अहिलेसम्मको ठूलो आर्थिक र सामाजिक सङ्कट हो जसलाई भारतले कसरी सम्बोधन गर्छ भन्ने कुरा निकै चासोपूर्ण हुनेछ। त्यहाँको आर्थिक वृद्धिदर गत महिना ४.७ प्रतिशतसम्म खस्केको थियो।

उत्पादनमूलक क्षेत्रसहित थुप्रै क्षेत्रतिर परेको कोरोनाभाइरसको यस्तो प्रभाव वर्षौँपछि आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *