स्वास्थ्य सचिवको विवादास्पद अभिव्यक्तिप्रति डा. भगवान कोइरालाको आक्रोश

डिसी नेपाल
१४ चैत २०७६ ९:४५

काठमाडौं। स्वास्थ्य सचिव यादव कोइरालाले ‘स्क्रिनिङका क्रममा स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) लगाउन आवश्यक नभएको’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले आक्रोश व्यक्त गरेका छन् । स्वास्थ्य सचिव कोइरालाले हिजो स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीले जथाभावी पीपीइ लगाएका कारण यसको अभाव भएको बताएका थिए ।

सचिव कोइरालाले बिरामीको उपचारको पहिलो चरण स्क्रिनिङका क्रममा पीपीइ लगाउन आवश्यक नभएको र त्यतिबेला साधारण मास्क, पञ्जा, चस्मा र क्याप लगाए सुरक्षा हुने मापदण्ड आफूहरुले बनाएको बताएका थिए । सचिव कोइरालाको यही अभिव्यक्तिप्रति लक्षित गर्दै काउन्सिल अध्यक्ष डा. कोइरालाले आफ्नो असहमति जनाएका हुन् ।

सचिव वा अन्य कसैको पनि नाम उल्लेख नगरी डा. कोइरालाले सांकेतिक रुपमा आफ्नो धारणा प्रस्ट पारेका छन् । शुक्रबार बिहान ९ बजे ट्वीट गर्दै डा. कोइरालाले संकटको समयमा स्वास्थ्यकर्मीको मनोबल घट्न दिन नहुने बताएका छन् । उनले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्ड अनुसारको पीपीइ अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् । यसको व्यवस्था हुन सकेमा आफूहरुले पनि पेशागत धर्म निभाउने डा. कोइरालाले उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *