कोरोनालाई कलंक नबनाइयोस्, के यसले विवाह रोक्न सक्छ ?

डिसी नेपाल
१६ चैत २०७६ ८:२०

समाचारअनुसार अहिले कोरोना संक्रमण पुष्टि भएकी बाग्लुङकी एक युवतीलाई बेल्जियमबाट फर्केपछि ज्वरो आयो। रुघाखोकी लाग्यो। तर न उनी आफै अस्पताल गइन् न त उनका बाबुआमाले बिरामी छोरीलाई तत्कालै जचाउँन पठाए।

ती युवतीका बाबुआमाको चिन्ता रहेछ, ‘छोरीलाई कोरोना भाइरस संक्रमण छ भन्ने कुरा समाजले थाहा पायो भने छोरीको बिहे हुन सक्दैन।’ त्यसैले उपचारमा ढिला भयो अहिले ती युवती रोएरै बसेकी छन्।

मानिसहरु किन डराइरहेछन् कोरोना भाइरससँग? किन रोग लुकाइरहेका छन्? समाजमा कोरोना भाइरसभन्दा बढी किन मनोवैज्ञानिक त्रास फैलिएको छ? कोरोना भाइरस एक कलंक वा सामाजिक धब्बाको रुपमा चिनिन थालेको त हैन ?

कोरोना प्रभावितको उपचारसँगसँगै कोरोना भाइरस अर्थात कोभिड १९ कलंक हैन भाइरसमात्र हो भन्ने बुझाई बलियो बनाउनु उत्तिकै जरुरी रहेको छ। त्रासकै एउटारुपमा हिजोआज यस्तो पनि अबस्था छ कि कसैको अगाडि सामान्य अबस्थामा पनि खोक्न वा हाँछ्यु गर्न डराउनुपर्छ।

मास्क लगाएको मानिसको नजिक पर्न डर लाग्छ। कोरोना भाइरससम्बन्धि हाम्रो बुझाइ, अल्पज्ञान, भाइरस फैलिन थालेपछि यसप्रति गरिएका नकारात्मक टिकाटिप्पणी, बिरामी स्वयं र परिवारको डर, समाजको सोच र व्यवहार सोचाई मनोबैज्ञानिक त्रासका कारण हुन् जसले गर्दा यो भाइरसलाई सामाजिक कलंक वा धब्बाको रुपमा बुझिने खतरा झनै बढेको छ।

मानिसहरु किन डराइरहेछन् कोरोना भाइरससँग? किन रोग लुकाइरहेका छन्? समाजमा कोरोना भाइरसभन्दा बढी किन मनोवैज्ञानिक त्रास फैलिएको छ? कोरोना भाइरस एक कलंक वा सामाजिक धब्बाको रुपमा चिनिन थालेको त हैन ?

चीनमा यो भाइरसको संक्रमण शुरु हुन थालेदेखि नै बाँकी दुनियाँले कोरोना भाइरसलाई वुहान भाइरस, चिनियाँ भाइरस, एशियन भाइरस आदि नामाकरण गर्यो। सिङ्गापुरका एक बिद्यार्थीले बेलायतमा कुटाइ खाए । भारतका बिभिन्न शहरमा उत्तरपूर्वी भारतीय नागरिकहरुमाथि दुव्र्यवहार भयो।

भारतको विहारमा त कसैले चीनका राष्ट्रपतिबिरुद्ध मुद्दा नै दायर गरे भन्नेसमेत सुनियो। कुटाइ र दुव्र्यवहारको कारण उनीहरुको अनुहार र शारीरिक बनौट चाइनीज नागरिकसँग मिल्नु थियो। चीनले भाइरस फैलायो भनेर भारतीय नागरिकले मुद्दा हालेका थिए।

चाइनीज नागरिक र उनीहरुको खानपान व्यवहारमाथि नकारात्मक टिप्पणीहरु देखिए। मंगोलियन नागरिकहरुप्रति नकारात्मक सोच व्यवहारमा उतारिए। स्वास्थ्यसम्बन्धि साना ठूला रोगब्याधि वा महामारीका पछाडि अनेकौं हल्ला फैलिन्छन् । यथार्थभन्दा भ्रम छिटो फैलिन्छन् र मान्छेले भ्रमलाई सजिलै पत्याउँन थाल्छन्। कहिलेकाँही समाचारहरु समेत भ्रमका कारक बन्छन् ।

अहिले त झन् सामाजिक सञ्जालहरुमा सत्य यथार्थभन्दा पुष्टि नभएका, मिथ्या र नियतबस राखिएका सामग्री छिटो फैलिन्छन्। सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धि मिथ्या सूचनाहरु बढी फैलिएपछि विश्व स्वास्थ्य संगठनले यसलाई सूचना संक्रमण अर्थात् इन्फोडेमिक समेत भन्नुपर्यो ।

मनोवैज्ञानिक त्रास बढाउन र कोरोनालाई सामाजिक कलंक वा दोषजस्तै बनाउनका लागि संक्रमित सूचनाहरु पनि जिम्मेवार छन् । कोरोना भाइरस देखापरेको चीनको वुहान शहर काठमाण्डौबाट झन्डै ३ हजार किलोमिटर टाढा छ । थोरैमात्र नेपाली यो शहरमा पुगेका छन् ।

नेपालीका लागि चीनका अरु शहरजस्तो वुहान त्यति लोकप्रीय र चिनिएको शहर पनि हैन । वुहानबाट कोरोना भाइरस संक्रमण फैलिन थालेपछि चीनले वुहानलाई सम्पुर्णरुपमा बन्द गर्यो । यस अघि कुनै रोगब्याधी वा महामारी नियन्त्रणका लागि सम्पुर्ण बजार, व्यवसायिक गतिबिधि, यातायात बन्द गरेर र सद्दे मान्छेलाई घरमैमात्र बसाएर बिरामीको उपचार गरेको सुनिएको थिएन ।

भाइरसलाई लिएर विश्वका अरु मानिसजस्तै नेपालीहरु पनि शसंकित र त्रसित हुनुको कारण यो पनि थियो जुन अहिले लकडाउनको रुपमा संसारभरी नै फैलिएको छ ।

कोरोना भाइरस सक्रमण भएपछि बिरामीलाई अलग्गै राखिने, कम्तिमा दुई हप्ता अरुसँग लसपस, उठबस्न गर्न नदिने, सिकिस्त बिरामीलाई राखिएका भेन्टिलेटर, उपचार बिधी, उपचारमा स्वास्थ्यकर्मीले लगाउने बिशेष प्रकारका लुगाले सामान्य मानिसमा मनोवैज्ञानिक त्रास बढाउन मद्दत गरे ।

मृत्युपछि गरिने दाहसंस्कार र क्रियाकर्म जस्ता कार्यसमेत परिवार, आफन्तले निश्चित पावन्दीमा रहेर गर्नुपर्ने बाध्यकारी परिवेशले यो भाइरप्रति झनै संसय बढायो । यस्तै कारणहरुले गर्दा संक्रमितहरुमा कस्तो मनोवैज्ञानिक त्रासले जरा गाड्यो भने आफूलाई कोरोना भाइरस संक्रमण भैहालेमा समाजले हेला गर्छ, परिवारसँग टाढिनुपर्छ, उपचार पाइन्न, मरेपछि लास समेत परिवारले पाउँदैन ।

बाग्लुङमा घटनामा युवतीका बाउआमा डराएको पनि यस्तै कुराले हो । हामीले बुझ्नु र बुझाउने पर्ने महत्वपूर्ण कुरा के छ भने कोरोना सामाजिक कलंक हैन । यो एउटा भाइरस हो । अहिलेसम्मको खोजले के पत्ता लगाएको छ भने कोरोना भाइरस (कोभिड १९) मान्छेबाट मान्छेमा सर्छ ।

जनस्वास्थ्य वैज्ञानिक र डाक्टरहरुका अनुसार रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या यसका लक्षणहरु हुन् । यी लक्षण देखिदैमा कोरोना भाइरस लागिहालेको भनेर बुझ्नु र बुझाइनु हुदैन । र कोरोना भाइरसको संक्रमण हुदैमा मृत्यु हुँदैन ।

साथसाथै, कोरोना भाइरसको बारेमा आम नागरिकलाई बुझाउनका लागि बोलीचाली, समाचार, यससम्बन्धी सूचना तथा शिक्षामुलक कार्यक्रम तथा सन्देशहरुमा गरिने शब्द चयनको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

जस्तैः कोरोना भाइरस कुनै देशले अर्को देश वा त्यहाँ बस्ने नागरिकलाई दुःख दिन तयार पारेको जैबिक हतियार पनि हैन। न त यो चाइनिज वा एशियन भाइरस नै हो । एशियन वा मंगोलियन अनुहार भएका मानिसहरुबाट यो भाइरस अरु मानिसमा सर्दैन ।

भूगोल, जात, फरक भाषा र संस्कृतिका मानिससँग यो भाइरसको कुनै सम्बन्ध छैन । यो भाइरस एकजनाबाट एकलाख जनासम्म सर्नका लागि झन्डै सवा दुई महिना लागेको थियो । तर अहिले एकहप्ता नपुगी झन्डै एकलाख नयाँ संक्रमितहरु थपिन्छन् ।

यसबाट मृत्यु हुनेको संख्या २५ हजार पुगेको छ । संसारका प्रायः सबै देश यसको चपेटामा परेका छन् । नपरेका केही देशमा पनि यसको असर अबश्य पुग्दछ । यो एकप्रकारको सरुवा रोग भएकोले तिब्र गतिमा फैलिइरहेको छ । बिशेषज्ञहरुका अनुसार भाइरसको संक्रमण नफैलियोस् भनेर यसको उपचारमा बिशेष सावधानी अपनाइएको हो ।

कसैलाई भाइरसले संक्रमित पारिहालेमा उसमार्फत घर, परिवार, आफन्त र साथीभाई हुदै फैलावट व्यापक नबनोस भनेर यसको उपचार पद्दतिमा संक्रमितमाथि नियन्त्रण गरिएको हो । यसरी बिशेष सावधानी र जिम्मेवारीका साथ नियन्त्रणमा लिएर उपचार गरिनुको अर्थ यो हैन कि कोरोना संक्रमित अपराधी हो ।

उ निको नै हुदैन, समाजमा उसको इज्जत जान्छ, परिवारले हेला गर्छ । यी सबै भ्रमहरु हुन् । कोरोना संक्रमित एकलाखभन्दा धेरै मानिसहरु उपचारपछि घरपरिवार र समाजमा फर्केका छन् । आफन्त र साथीभाइसँग पहिलेकै जस्तो जिन्दगी बिताइरहेका छन् । पहिलेजस्तै स्वस्थ भएर काममा फर्कदैछन् ।

सबभन्दा ठूलो कुरा उनीहरु कलंकित हैनन् । न त उनीहरुले परिवार र समाजलाई कलंकित बनाउँछन् । त्यसैले, कोही संक्रमित छ कि छैन भनेर राज्यले खोजिरहेको छ भने उसको समयमै उपचार होस् भनेर खोजिएको हो । समाजका अरु मानिसमा रोग नफैलियोस भनेर सचेतता अपनाइएको हो ।

घरमा बस्दा अरुबाट आफूलाई सर्न सक्दैन भनेर घरमै बस भनिएको हो । र रोग लागिहालेमा उपचार हुन्छ, निको हुन्छ र पहिलेजस्तै जीवन जिउन सम्भव हुन्छ भनेर नै अहिले कोरोनाबिरुद्ध विश्व नै लडिरहेको हो ।

कलंक, धब्बा, प्रलय आदि इत्यादि भनेर, सोचेर हैन रोग लाग्न र फैलिन नदिनका लागि एकजुट हुनु अहिलेको एकमात्र लक्ष हो र हुनुपर्छ पनि यही ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *