न्युन आय भएकालाई आर्थिक र खाद्य प्याकेज ल्याउन नेता पौडेलको आग्रह

डिसी नेपाल
१६ चैत २०७६ १२:३७

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरसले उत्पन्न आर्थिक विपतका बेला न्युन आउ भएका नागरिकहरुलाई नगद र खाद्य प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

नेता पौडेलले दैनिक उपभोग्य वस्तु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने सुनिश्चितता गर्न र नियमित अनुगमनका लागि सरकारको ध्यानाकर्षण गर्न सरकारसँग माग गरेका छन् ।

पौडेलले कोरोना भाइरसको संक्रमणबाट बचाउन खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहनस्वरुप बिमाको व्यवस्था गर्न सरकारसँग अनुरोधसमेत गरेका छन्। उनले कोरोना नियन्त्रण गर्न सरकारलाई ८ बुँदे सुझाब समेत दिएका छन् ।

हालसम्म नेपालमा ५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरेको छ।

यस्ता छन् पौडेलले सरकारलाई दिएका ८ सुझावहरु 

१) कोभिड–१९ संक्रमित पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशीलता देखाइयोस् । तत्काल परिक्षणको क्षमता बृद्धि गर्न आवश्यक ब्यवस्था गरियोस् । सातै प्रदेशमा परिक्षणको व्यवस्था तत्काल गरियोस् । स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण, परिक्षण उपकरण, स्वास्थ बिमा उपलब्ध गराइयोस् ।

२) न्यून आय भएका गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र साना तथा सामान्य व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गरी कार्यान्वयनमा ल्याइयोस् ।

३) व्यवसायीहरूमार्फत नै दैनिक उपभोग्य बस्तुको सहज र सुपथ मूल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको समेत ब्यबस्था गरियोस् र भ्रष्टाचार, कालोबजारी साथै कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याइयोस् ।

४) स्वास्थ्य उपकरणहरु खरिद गर्दा पारदर्शिता कायम गरियोस् ।

५) यस समयमा खटिने अत्यावश्यक सेवाका कर्मचारी, सुरक्षा निकायलगायतका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ बिमा गरी काम गर्न अझ प्रोत्साहन गरियोस् ।

६) नेपाल राष्ट्र बैंकले व्याज दर कटौती गर्दै ऋणको सावाँ तथा व्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइयोस् ।

७) नागरिकलाई बैंकिङ, बिमा लगायत पूँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निःशुल्क हुने व्यवस्था तत्काल मिलाइयोस् ।

८) व्यवसायीले चैत मसान्तसम्म बुझाउनु पर्ने अनुमानित आयको ७० प्रतिशत कर तथा सोको विवरण बुझाउने समय २०७७ असार मसान्तसम्म कायम गरियोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *