‘लकडाउन’ थपिएपछि घरको लागि पैदल यात्रामा मजदुर
काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथामका लागि एक सातादेखि देशभरी नै ‘लकडाउन’ गरेको छ । सुरुमा एक साताको लागि भनिएको ‘लकडाउन’को अवधि सकिनै लाग्दा सरकारले थप ८ दिन ‘लकडाउन’को समय थपेको छ । सरकारले अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आग्रह गरेको छ ।
सरकारको यस कदमको जनस्तरबाट पनि तारिफ गरिएको छ । तर, दैनिक मजदुरी गरेर छाक टार्ने श्रमिकहरु भने ‘लकडाउन’को प्रत्यक्ष मारमा परेका छन् । सरकारले ‘लकडाउन’को अवधि थपेपछि मजदुरी गर्ने श्रमिकहरु त्रसित भएका छन् । एक सातामा ‘लकडाउन’ खुल्छ भन्ने आशमा काठमाडौंमै बसेका उनीहरु अहिले पैदलै भएपनि घर हिँड्न थालेका छन् ।
सोमबार हामी रिपोर्टिङमा निस्किँदा काठमाडौंबाट दक्षिणकाली हुँदै हेटौंडा जोडिने छोटो रुटबाट केही मानिस समूह–समूहमा घर जान भनी हिँडीरहेका थिए । हामीले बुझ्दा उनीहरु सबै श्रमिक रहेछन् । सरकारले ‘लकडाउन’को अवधि थपेसँगै उनीहरुसँग भएको रुपैयाँ पनि सकिपछि घर(विरगञ्ज) हिँडेको उनीहरुको भनाई थियो । काम गर्ने ठाउँबाट केही सहयोग मिलेन ? भन्ने हाम्रो प्रश्नमा उनीहरुको जवाफ थियो । ‘मालिक आफै भागिसक्यो हाम्रो त फोन पनि उठाउँदैन ।’
दिउँसो प्रहरीले हिँड्न नदिने भएपछि उनीहरु रातको ३ बजे भक्तपुरबाट हिँडेका रहेछन् । झण्डै ९ घण्टा हिँडेर उनीहरु भञ्ज्याङ भन्ने ठाउँ पुगेका थिए । फेरि हामीले कति दिन लाग्छ विरगञ्ज पुग्न ? भनेर सोध्दा थकित स्वरमा भने अब दुई दिनमा त पुगिन्छ होला ।
सरकारप्रति गुनासो गर्दै ति मध्येका एक व्यक्तिले भने, ‘सरकारले हामीलाई सहयोग दिनुपथ्र्यो । हामी विदेशी त होइनौं नी । अब सरकारले सहयोग पनि गरेन हामीसँग भएको पैसा पनि सकियो त्यसैले हामी हिँडेरै भएपनि घर जान लागेको ।’
पैदल यात्रुलाई निःशुल्क बोत्तलको पानी
‘लकडाउन’को समयमा श्रमिकहरुले सरकारले सहयोग नगरेको गुनासो गरिरहँदा एकजना कोठा भाडामा बसेर सानो स्टेसनरी पसल संचालन गरेकी एक महिलाले भने बाटोमा हिँड्ने सबै पैदल यात्रुहरुलाई बोत्तलको पानी दिएर सहयोग गरिरहेकी छिन् ।
काठमाडौंबाट दक्षिणकाली हुँदै हेटौडा जाने छोटो रुटमा रत्नादेवि शाही नाम गरेकी महिला आधा पसल खोलेर बसिरहेकी हुन्छिन् । त्यहीँ एउटा चौतारो छ । अहिले त्यो बाटोबाट हेटौंडा जाने पैदल यात्रुहरु थकान मार्न त्यहि बस्छन् ।
पैदल यात्रु देख्ने बित्तिकै उनी पसलबाट बोत्तलको पानी बोकेर आउँछिन् र निःशुल्क वितरण गर्छिन् । दिनमा २० देखि २५ बोत्तल पानी वितरण गर्ने उनी भन्छिन्, ‘उनीहरु त्यती टाढाबाट हिँडेर आइरहेका छन् । अरु खाने कुरा त मैले दिन सकिन तर पानी भएपनि दिउँ भनेर मैले पानी दिइरहेकी छुँ ।’
Facebook Comment