सशस्त्रको अस्पतालका बिरामीलाई सेना र प्रहरी अस्पतालमा सार्ने तयारी
काठमाडौं । सशस्त्र प्रहरीको सतुङगलस्थित अस्पतालमा रहेका विरामीलाई नेपाल प्रहरी र नेपाली सेनाको अस्पतालमा सार्नै तयारी भएको छ । सरकारले कोभिड–१९ (कोरोना) भाइरस संक्रमितहरुका लागि डेडिकेडट अस्पताल तोकेपछि त्यहाँ रहेका सशस्त्र प्रहरी बलका विरामीलाई स्थान्तरण गर्न लागिएको हो ।
सशस्त्र प्रहरीले त्यहाँ रहेका चार वटा यूनिटलाई स्थान्तरण गरेर स्वास्थ्य मन्त्रालयलाई जिम्मा दिइसकेको छ । सशस्त्र प्रहरी बल स्रोतका अनुसार विरामीलाई स्थान्तरण गर्ने प्रकृया पूरा हुन लागेको र केही लिन भित्रै स्वास्थ्य मन्त्रालयले सन्चालन गर्ने भएको हो । स्वास्थ्य मन्त्रालयले सो अस्पताल नेपाली सेनाको रेखदेखमा चलाउने जनाए पनि अहिलेसम्म सेनालाई कुनै प्रकारको लिखित आदेश भने गइसकेको छैन ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीण श्रेष्ठले त्यहाँ रहेका विरामीलाई नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सार्ने जानकारी आएको बताए । ‘हाम्रा कोही मानिस विरामी भए भने पनि सेना र प्रहरी अस्पतालमा जाने आदेश आएको छ, बलम्बुको सशस्त्र प्रहरी अस्पताल स्वास्थ्य मन्त्रालयले हेर्नेछ’, उनले भने ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ आइसोलेशन कक्ष र आइसियू कक्ष बढाउने काम भैरहेको छ । चैत १० गते बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालमा सेना, प्रहरी र चिकित्सक खटाएर उपचार गर्ने व्यवस्था मिलाउने जनाएको थियो ।
तर सो अस्पताल अहिलेसम्म कोरोना विशेष अस्प्तालको रुपमा सञ्चालन हुन सकेको छैन । बलम्बुमा तयार नहुँदासम्म सरकारले पाटन अस्पताललाई त्यस सम्बन्धी विरामीको उपचार गर्न आग्रह गरेको थियो । सो आग्रह अनुसार पाटन अस्पतालले संकित विरामीहरुलाई भर्ना लिइरहेको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बलम्बुमा रहेको अस्पताल सञ्चालनमा आउन अझै केही दिन लाग्नेछ ।
Facebook Comment