सरकारद्वारा विवादास्पद मेडिकल सामग्री खरिद सम्झौता रद्ध
काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र श्रेष्ठले मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् ।
कोरोनाभाइरसको संक्रमण देखिएसँगै स्वास्थ्य विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी समूहसँग उपकरण खरिद सम्झौता गरेको थियो ।
सम्झौताअनुसार आइतबार नेपाल एयरलाइन्सको विमान पठाएर सरकारले स्वास्थ्य सामग्री पनि ल्यायो । सामग्री नेपाल पुगेपनि विना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।
विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको समेत बताए ।
तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताए । उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।
चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरिएको छ।
Facebook Comment