कोरोनाभाइरसः अमेरिकाका ‘गम्भीर’ गल्तीहरु जसका कारण २ लाख मानिसको ज्यान जान सक्छ
वाशिङटन। संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस प्रवेश गरेको २ महिनाभन्दा धेरै समय भइसकेको छ । यो महामारी अहिले पूरै अमेरिकामा फैलिइसकेको छ । यहाँ संक्रमितको संख्या २ लाखभन्दा धेरै भइसकेको छ र ५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । कोरोनाभाइरस संक्रमणका केसको हिसाबले अमेरिकाले विश्वका सबै देशलाई उछिनेर शीर्षमा पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुले भने अझै अमेरिकामा कोरोनाभाइरसको भयंकर रुप देखिन बाँकी नै भएको चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आगामी दुई हप्तालाई ‘कठिन’ भनेका छन् । ह्वाइट हाउसका अधिकारीहरुले पनि कोरोनाभाइरसका कारण अमेरिकामा १ देखि २ लाखको ज्यान जान सक्ने आशंका जनाएका छन् । यस्तोमा सबैभन्दा ठूलो प्रश्न हो अमेरिकाजस्तो विकसित, शक्तिशाली र धनी देशबाट गल्ती कहाँनिर भयो ?
१. मेडिकल सप्लाइको संकटः अमेरिकामा मास्क, पञ्जा र भेन्टिलेटरको कमी अहिले चरम अवस्थामा पुगेको छ । अस्पताल र डाक्टरसँग संक्रमणबाट पर्याप्त सुरक्षा दिने उपकरण छैनन् । कैयौं स्वास्थ्यकर्मीहरु सेनिटरीको सामान पुनः प्रयोग गर्न बाध्य भएका छन् । केहीले आफ्नै स्तरमा मास्क बनाइरहेका छन् । सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको कमीका कारण भइरहेको छ । मंगलबार न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोले यस विषयमा गुनासो समेत गरेका थिए । उनले भने ‘मेडिकल उपकरण सबैभन्दा पहिले पाउनको लागि केन्द्र सरकार र राज्यहरुको बीचमा प्रतिस्पर्धा सुरु भएको छ जसका कारण यसको मूल्य बढिरहेको छ ।’
जर्ज वाशिङटन विश्वविद्यालयमा हेल्थ पोलिसी एण्ड म्यानेजमेन्टका प्रोफेसर जेफरी लेवीले बीबीसीसँग कुरा गर्दै भने ‘यस्तो स्थिति बन्नु हुँदैन । अमेरिकी सरकारले समय छँदै जरुरी मेडिकल उपकरणको पर्याप्त आपूर्ति गर्न सकेन । जब कोरोनाको संकट बढ्यो त्यसपछि पनि सरकारले निकै ढिलो गतिमा काम गर्यो र मेडिकल उपकरणको उत्पादन बढाउनमा हप्तौं गुमायो । सरकारले उत्पादन क्षमता बढाउन आफ्नो पूरै क्षमताको प्रयोग पनि गरेन ।’
२. परीक्षणमा ढिलाइः प्रोफेसर लेवीका अनुसार दक्षिण कोरिया र सिंगापुरमा जस्तै कोरोनाको सुरुवाती चरणमै धेरै परीक्षण गराउनु नै यसको रोकथामको सबैभन्दा प्रभावकारी तरिका हो । यस्तो गर्न नसक्नु अमेरिकी सरकारको सबैभन्दा ठूलो गल्ती थियो । यही कारण अमेरिकामा महामारीले भयानक रुप लियो । उनले भने ‘कुनै पनि महामारीसँग जुध्नको लागि तपाइँलाई सबैभन्दा पहिले यो थाहा हुनुपर्छ कि कहाँ के भइरहेको छ । यो जानकारी छैन भने बुझ्नुहोस् तपाइँ अँध्यारोमा तीर चलाउँदै हुनुहुन्छ । तपाइँलाई थाहा नै हुँदैन कि भाइरसको अर्को हटस्पट कहाँ बन्ने वाला छ ।’
उनले अगाडि भने ‘तपाइँले धेरै भन्दा धेरै परीक्षण गराउनुपर्छ किनकि यसबाट संक्रमित बिरामीको पहिचान हुन्छ र उनीहरुलाई अन्य मानिसहरुबाट अलग गरिन्छ । संक्रमण कम फैलिन्छ र तपाइँले पूरै देशलाई लकडाउन गर्नुपर्ने आवश्यकता पनि हुँदैन ।’ मार्च महिनाको दोस्रो हप्ता ट्रम्प प्रशासनले बाचा गरेको थियो कि महिनाको अन्त्यसम्म ५० लाख जनाको परीक्षण गराइनेछ । तर, एक विश्लेषणअनुसार मार्चको अन्त्यसम्म केवल १० लाखको मात्रै परीक्षण भएको छ । यो संख्या अन्य देशको तुलनामा त बढी हो तर अमेरिकाको विशाल जनसंख्याको अनुपातमा पर्याप्त भने देखिँदैन । अर्कोतर्फ परीक्षणको नतिजा आउन हप्ताभन्दा धेरै समय लाग्नुले पनि यो बीचको समयमा संक्रमण फैलिइरहेको छ ।
३. राष्ट्रपतिकै बदलिँदो बयानः मंगलबार एक प्रेस कन्फ्रेन्समा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा कोरोनाभाइरसको महामारीबाट उत्पन्न खतरनाक स्थितिको बारेमा कुरा गरे । उनले हरेक अमेरिकीहरुलाई ‘आउँदा अत्यन्तै कठिन दिनहरुको लागि तयार रहन’ आग्रह गरे । उनका स्वास्थ्य सल्लाहकारहरुले एक चार्ट देखाए जसमा सुरक्षाका तमाम उपाय अपनाउँदा पनि करिब १ लाख अमेरिकीको मृत्यु हुने अनुमान गरिएको थियो ।
केही हप्ता पहिले भने ट्रम्पले अप्रिल महिनादेखि कारोबार पहिलेजस्तै सुचारु हुने बताएका थिए । जनवरी र फेब्रुअरीमा कोरोनाभाइरसले चीनको अर्थव्यवस्थालाई नराम्रोसँग तहसनहस पारेको र इटलीमा मृत्युको संख्या लगातार बढिरहेको बेला ट्रम्पले सम्भावित खतरालाई हल्का रुपमा लिए । ट्रम्प र उनका अधिकारीहरुले त्यतिबेला स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको बताएका थिए । ट्रम्प र शीर्ष नेतृत्वको लगातार बदलिँदो बयान गम्भीर समस्या हो ।
प्रोफेसर लेवी भन्छन् ‘कोरोनाभाइरस महामारीको क्रममा लगातार परिस्थितिहरु बदलिइरहन्छन् र तपाइँका सन्देश पनि बदलिन्छन् । तर, अहिले भने कुनै वैज्ञानिक संकेत वा धरातलीय वास्तविकताको आधारमा नभइ राजनीतिक चिन्ताका कारण बयान बदलियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो कठिन समयमा पनि डेमोक्रेटिक स्टेट गभर्नरहरुसँग भिडिरहेका छन् । ट्रम्पले ट्वीटरमा न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमो र मिशिगनका ग्रेचेन ह्वीटमरलाई निशाना बनाए र भने – राज्यका नेताहरुले केन्द्र रकारको प्रशंशा गर्नुपर्छ ।’
४. सामाजिक दूरी ठिकसँग लागू नहुनुः कोरोनाभाइरसको रोकथामको लागि सामाजिक दूरी निकै जरुरी हुन्छ तर कैयौं चेतावनीपछि पनि अमेरिकाको फ्लोरिडास्थित समुद्र किनारमा विद्यार्थीहरुको भीड रोकिएन । लुसियानाको एक चर्चमा पनि हजारौंको संख्यामा मानिसहरु प्रार्थना गर्न गइरहे । चर्चका पादरी टोनी स्पेलसँग यसबारे सोध्दा उनले भाइरस राजनैतिक रुपबाट प्रेरित भएको आफूलाई लागेको टिप्पणी गरे । उनले आफूहरुको धार्मिक अधिकार सुरक्षित भएको भन्दै जेसुकै भए पनि प्रार्थनाको लागि जम्मा हुन नछोड्ने बताए ।
देशभरमा कैयौं उदाहरण छन् जसले सामाजिक दूरीलाई बेवास्ता गरिएको प्रस्ट पार्छन् । कैयौं स्थानीय सरकार र राज्य सरकार पनि कारोबार बन्द गर्न र मानिसहरुलाई घरभित्रै राख्न इच्छुक छैनन् त्यसैले उनीहरुले कडाइ पनि गरेका छैनन् । फ्लोरिडा बीचमा पुगेकी एक युवतीले सीबीएस न्यूजसँग भनेकी थिइन् ‘यदि मलाई कोरोना हुन्छ भने होओस्, म यो भाइरसलाई मलाई पार्टी गर्नबाट रोक्न दिन्न ।’
Facebook Comment