९० वर्षकी महिलाले भनिन् ‘म ठिक छु, भेन्टिलेटर चाहिँदैन, युवालाई देऊ’ तर…

डिसी नेपाल
२० चैत २०७६ १६:१६

काठमाडौं। कोरोनाभाइरसबाट गम्भीर रुपमा प्रभावित कैयौं देशमा भेपन्टलेटरको अभाव भइरहेको छ । इटली र अमेरिका जस्ता विकसित देशमा पनि हालत यस्तै छ । भेन्टिलेटरको संख्या कम र बिरामीको संख्या बढी भएपछि डाक्टरहरुलाई पनि कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भन्ने निर्णय गर्न समस्या भइरहेको छ । तर, ९० वर्षकी एक महिलाले भने आफू गम्भीर अवस्थामा नभएको भन्दै आफूलाई भेन्टिलेटरमा नराख्न र त्यो भेन्टिलेटर अरु कुनै बिरामीका लागि उपयोग गर्न आग्रह गरिन् ।

९० वर्षकी यी महिला सुजैन एच बेल्जियमको बिन्कम शहरकी थिइन् । कोरोना संक्रमणका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई २० मार्चमा अस्पताल भर्ना गरिएको थियो । तर, उनले भेन्टिलेटर लिन अस्वीकार गरिन् र त्यो भेन्टिलेटर युवाहरुको लागि राख्न भनिन् । आफैंले भेन्टिलेटरमा उपचार लिन अस्वीकार गरेकी सुजैनको अन्ततः मृत्यु भयो । डेलिमेलको रिपोर्टअनुसार सुजैनले डाक्टरसँग भनेकी थिइन् ‘म कृत्रिम श्वासप्रश्वास प्रयोग गर्न चाहन्न । यसलाई युवाको लागि राख्नू, म ठिक छु ।’

भर्ना भएको २ दिनपछि नै २२ मार्चमा महिलाको मृत्यु भयो । सुजैनकी छोरी जुडिथले भनिन् ‘मैले उहाँलाई अलविदा पनि भन्न सक्दिनथैं र मलाई उहाँको अन्तिम संस्कारमा सहभागी हुने अवसर पनि प्राप्त भएन ।’ बेल्जियममा अहिलेसम्म ७ सयभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । यहाँ १२ हजार भन्दा धेरै संक्रमित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *