स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् डाक्टर महेन्द्रप्रसाद श्रेष्ठ ? (भिडियोसहित )

डिसी नेपाल
२० चैत २०७६ २३:१५

काठमाडौं। स्वास्थ्य विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री छिटो ल्याउनु पर्ने भएकाले चैत १५ गतेभित्र स्वास्थ्य सामाग्री ल्याउने गरी सम्झौता गरेको तर तोकिएको अवधिभित्र स्वास्थ्य सामाग्री आउने अवस्था नभएपछि ठेक्का सम्झौता रद्ध गरेको बताएका छन्।

स्वास्थ्य सामाग्री नभइ नहुने अवस्था भएका कारण तुरुन्त तुरुन्तै सम्झौता गरेर क्षमता हुने कम्पनीलाई प्रतिश्पर्धामा आउन आग्रह गरेको बताए। उनले सरकारले सम्झौता गरेको कम्पनीले आफूहरुले सामान तयारी अवस्थामा राखेको र चैत १५ गतेसम्म ल्याउन सक्ने बताएपछि सम्झौता गरेको बताए।

बिहीबार डिसी नेपालसँग कुरा गर्दै महानिर्देशक श्रेष्ठले छिटो समान ल्याउने शर्तमा उक्त सम्झौता केही महंगो भएको सुनाए। ‘त्यो बेला मैले २० प्रतिशत महंगो हुने बताएको थिएँ, तर अहिले हेर्दा १४ प्रतिशत बढी देखियो,’ महानिर्देशक श्रेष्ठले भने, ‘हामीले खरिदकर्तासँग १९ वटा आइटम किन्ने तय भएको थियो। ती मध्ये ११ आइटम सस्तो छ। आठ वटा आइटम मध्ये केही असाध्यै महंगो पनि थियो। यी जोड्दा हामीले १४ प्रतिशत महंगोमा किन्न गालेका थियौं।’

महानिर्देशक श्रेष्ठले समान बजारमा उपलब्ध नभएको तर नभइ नहुने अवस्था आएपछि र खरिदकर्ताले समयमै उपलब्ध गराउने भनेपछि सम्झौता गरेको बताए।

तर खरिदकर्ताले सम्झौता अनुसार सामान ल्याउन नसकेका कारण सम्झौता रद्ध गर्नु परेको उनले बताए। खरिदकर्ताले ल्याउनु पर्ने कुल सामानको पहिलो लटमा दश प्रतिशतमात्र ल्याएको बताए। ‘पहिलो लटमा कुल समानको दश प्रतिशतमात्र ल्याउनु भयो। दोस्रोलट बिहीबार आउनुपर्ने थियो,’ उनले भने, ‘तर बिहीबारसम्म ल्याउने उहाँहरुसँग कुनै पनि आधार देखिएन। लामो समय कुर्न सक्ने अवस्था छैन। अब हामी अर्को प्रक्रियामा गएनौं भने फेरि सामानको अभाव हुन्छ भनेर हामीले सम्झौता टुंग्याएका हौं।’

आफूहरुले ३० वटा समूहलाई स्वास्थ्य सामाग्री खरिदका लागि आग्रह गरेको र तीमध्ये सात जनाले चासो देखाएको उनको भनाइ थियो। चैत १२ गते साँझ सात बजेसम्म सबैलाई आफ्नो प्रस्ताव दिन आग्रह गर्दा जम्मा दुईवटा मात्र प्रस्ताव आएको बताए। त्यसपछि अन्य समूहलाई आफूहरुले फोन गरेरसमेत प्रस्ताव माग गरेको तर कसैको नपरेपछि अम्नी समूहलाई दिएको महानिर्देशक श्रेष्ठले जनाए।

अन्य कुनै समूह ल्याउन तयार नभएको र ल्याउन इच्छा देखाएको समूहले आफूहरुले चीनमा स्वास्थ्य सामाग्री तयारी अवस्थामा राखेको बताएपछि ठेक्का दिएको उनको भनाइ छ।

तर सम्झौता अनुसार सामान ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेको उनले जनाए।

आफूहरुले सम्झौता गरेको समय भन्दा अहिले समय निकै फरक परेको उल्लेख गर्दै उनले चीनमा अहिले ७५ प्रतिशत उद्योग खुलिसकेको र हिजोको भन्दा सस्तोमा र चाँडै स्वास्थ्य सामाग्री नेपाल आउनेमा आफूहरु विश्वस्त रहेको सुनाए।

१६ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोनासँग सम्बन्धित सबै विषय जीटुजी (सरकार टु सरकार)  र नेपाली सेनाको नेतृत्वमा सामान लिने निर्णय गरेकाले स्वास्थ्य मन्त्रालयले सबै प्रक्रिया रोकेर सरकारले नेपाली सेनाको नेतृत्वमा स्वास्थ्य सामाग्री ल्याउने संभावना बढेको बताए।

विस्तृत भिडियोमा :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *