कोरोनाको नाममा अरु बिरामीले कहिलेसम्म पीडा खेप्ने सरकार?
काठमाडौं। ‘लौन निनीलाई के भयो भर्खरसम्म बोल्दै हुनुहुन्थ्यो नाडी पनि चिसो छ आउनु न ए दिदी’ भन्दै चिच्याउन थालिन् शर्मिला तामाङ।
राजधानीको इमाडोमा कोठा भाडामा लिएर बस्ने तामाङकोमा एक महिनाअघि ८० वर्षीया फुपू धार्मिकस्थलको दर्शन गर्न भनेर रौतहटबाट काठमाडौं आएकी थिइन्।
सरकारले चैत १० गतेदेखि कोरोना संक्रमण रोकथामका लागि लकडाउनको घोषणा गरेपछि उनी घर फर्किन नपाएर शर्मिलासँगै बस्दै आएकी थिइन्।
एक सातादेखि सामान्य रुघाखोकीले अस्वस्थ देखिएकी शर्मिलाकी फुपू मंलबार एक्कासी बेहोस भइन्। शर्मिलाले छिमेकीमा खबर गरेपछि सबैजनाले एम्बुलेन्स बोलाउन आग्रह गरिन्। लकडाउनले गर्दा सडक सुनसान थियो।
सिनामंगलको केएमसी अस्पताल लैजाने भनेर एउटा एम्बुलेन्सलाई फोन गर्दा एम्बुलेन्स चालकले फोन उठाएर रुघाखोकी लागेको बिरामी भनेपछि आउन नसक्ने भन्यो। अब कहाँ जाने त्यसपछि झन आपत पर्याे।
हुन त नजिकै किष्ट अस्पताल पनि थियो। तर निजी अस्पतालमा नलाने भनेर शर्मिलाले मानिन्। उनले श्रीमानलाई फोन गरिन्। उनका श्रीमान् साहुको गाडी चलाउँछन्। लकडाउनमा फसेपछि उनी कोठा आउन पाएका थिएनन्।
उतै साहुकै घरमा छन्। अन्तत श्रीमानले पनि आउन नसक्ने भनेपछि एकजना छिमेकीले सरकारले उपलब्ध गराएको टोल फ्री नम्बर १०२ मा फोन गर्न सुझाव दिए। टोल फ्री नम्बर भनेपछि उनलाई एम्बुलेन्स पाउने थोरै आशा थियो। तर, एम्बुलेन्स चालकको जवाफले त्यो पनि निराशामा बद्लियो।
पटक–पटक आग्रह गर्दा एम्बुलेन्स चालक एउटै कुरा दोहोर्याउँथे ‘कुनै अस्पतालमा भर्ना लिन मान्दैनन् दुख पाउन म आउँदिन।’
एम्बुलेन्स चालकले आफ्नो अडान नछाडेपछि शर्मिला झन अप्ठ्यारोमा परिन्। घुम्न आएकी फुपूलाई केही भइहाल्यो भने के गर्ने ? उनलाई झन् गाह्रो भइरहेको थियो। उनी निरीह थिइन्।
त्यसपछि नजिकै ड्यूटीमा खटिएका प्रहरीलाई साधन मिलाउन अनुरोध गरे। उनको दुर्दशा देखेका एक प्रहरीले भने, ‘हामीले कहाँबाट एम्बुलेन्स मिलाउनु, अस्पताललाई भन्नुस्। अरु गाडीलाई त पास लिएर आउनु पर्छ।’
अन्तत केही नलागेपछि सबै मिलेर नजिककैको बन्द रहेको क्लिनकमा फोन गरेर लगे। स्लाइन चढाएपछि उनको होस आयो। न्युन रक्तचापका कारण बेहोस भएकी रहिछन्।
सामान्य रुघाखोकी र ज्वरोको औषधि दिएर पठाए। शर्मिलाले दुखेसो पोख्दै भनिन्, ‘कोरोनाको नाममा अरु बिरामीले कहिले सम्म पिडा खेप्ने सरकार?’ यो त प्रतिनिधि घटनामात्रै हो।
उपचार नपाएरै एकाएक मृत्यु
केही दिन अघि कोरोनाको आशंकामा कोरोना विशेष अस्पताल चितवनमा भर्ना भएका वीरगन्जका ३० वर्षीय युवकको अकालमा ज्यान गयो। चितवन मेडिकल कलेज र कोरोना विशेष अस्पतालको समन्वय हुन नसक्दा दुवै अलमलमा परे। अन्त्यमा उच्च ज्वरो र निमोनियाले उनको ज्गान गयो।
यस्तै बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा खोकी लागेर लुम्बिनी प्रादेशिक अस्पताल पुगे। अस्पतालमा ज्वरो स्क्रिनिङ गरेपछि कोरोनाको आशंका गर्दै सिधै बुटबलको धागो कारखाना पठाइदियो।
उनी धागो कारखानामा बनाइएको अस्थायी आइसोलेटेड अस्पताल भर्ना भए। अस्पताल भर्ना भएको चार दिनपछि उनको मृत्यु भयो।
पाटन अस्पतालको आईसीयूमा भर्ना भएका भारतीय सेनामा काम गर्दै आएका धादिङका एक युवकको पनि निमोनियाले नै ज्यान लियो। निमोनियाले नै काठमाडौंको वीर अस्पतालमा पनि २ जना बिरामीको मृत्यु भयो।
यसरी नै बिराटनगरमा बिभिन्न अस्पताल चहार्दा चहार्दै समयमै उपचार नपाउँदा धनकुटाकी एक महिलाको मृत्यु भएको थियो। कोरोनाको त्रास बढेसँगै रुघा र ज्वरोका बिरामी उपत्यकाको कुनै पनि अस्पतालले भर्ना नलिएका कारण अवस्था भयावह बन्दैछ।
एम्बुलेन्स चालकहरुले बिरामी ओसार्न नमानेकाले पनि अवस्था झन् गम्भीर बनाउँदै लगेको संकेत गर्छ। राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाका अनुसार कोरोनाको परीक्षण रिपोर्ट आउन नमुना ल्याबमा आएदेखि २४ घण्टा लाग्छ।
टेकु अस्पतालका एक चिकित्सक भन्छन्, ‘सामान्य रुघाखोकी र ज्वरोका बिरामीलाई पनि अन्य अस्पतालले कोरोना भन्दै यहाँ पठाएकाले हामीलाई तनाव भएको छ, बिरामीले दुख पाएका छ।’
निमोनियको बिरामीले समयमा उपचार पाएन भने मर्न सक्छ। त्यसैले कोरोनाको आशंका हुँदैमा उपचारबाट बन्चित हुनु हुँदैन। शंंकामा क्वारेन्टाइ तथा आइसोलेसनमा राखेर पनि उपचार गर्नुपर्छ।
कोरोनाले पनि निमोनिया नै गर्ने हो तर शंकामा रहेका बिरामीलाई सुरक्षित रुपमा उपचार गर्नु पर्ने शिक्षण अस्पतालका छाती रोग बिशेषज्ञ डा. सन्तकुमार दासले डिसी नेपाललाई बताए।
‘डाक्टर जस्ता बौद्धिक वर्गले हेलचेक््रयाँई नगरी विश्व स्वस्थ्य संगठनले तोकेको मापदन्डअनुप चल्नुपर्छ। यस्तो बेलामा एम्बुलेन्स चालकहरुलाई पनि सुरक्षा सतकर्तामा ध्यान दिएर अस्पतालहरुले परिचालन गर्नुपर्छ,’ उनले भने।
कतिपय अस्पतालहूले जुनसुकै केसहरुमा पनि कोरोना भनेर भर्ना गर्न चाहँदैनन्। भर्ना गरेपनि बिरामीलाई फोकस पुग्दैन त्यसैले बिरामी मर्नुको विकल्प नभएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।
अहिले पहुँचवालाले पास पाउँछन्, निमुखाले पास पनि पाउन सक्दैनन्, एम्बुलेन्स पाउँदैनन्, पाइहाले पनि भाडा तीन गुणा बढी भन्छन्। अस्पतालले भर्ना गर्न मान्दैनन्। यसले गर्दा कोरोनाको नाममा अन्य रोगी मारमा परेका छन्।
निमोनिया तथा श्वासप्रश्वासका रोगीहरु अहिले सर्वाधिक जोखिममा छन्। सरकार यतातिर पनि सोच्ने कि!
Facebook Comment