स्वास्थ्य सामाग्री खरिदको जिम्मा सेनालाई दिने निर्णयमा के भन्छन् नेकपा नेता ?

डिसी नेपाल
२१ चैत २०७६ १०:१३

काठमाडौं। सत्तारुढ दल नेकपाका संसदीय दलका नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र निन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य उपकरण जीटुजी (सरकार–सरकारबीच सम्झौता) मार्फत ल्याउने निर्णयको विरोध गर्नुको अर्थ नहुने बताएका छन्।

मुुलुक अहिले कोराना संक्रमणसँग जुधिरहेको उल्लेख गर्दै नेता नेम्वाङले कोराना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने औषधि ल्याउने विषयमा विवाद गर्नु उचित नहुने बताए।

‘मलाइ यो विषयमा धेरै जानकारी पनि छैन। तर सरकारले स्वास्थ्य सामाग्री ल्याउने विवादस्पद डिललाई क्यान्सिल गरेको सुनेको छु,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘अहिले यस्ता विषयमा साह्रै लाग्ने बेला होइन। अहिलेको असामान्य अवस्थामा देश र जनतालाई जोगाउने विषय महत्वपूर्ण हो।’

चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

नेपाली सेनालाई स्वास्थ्य सामाग्री ल्याउन दिने निर्णय भएपछि विरोधका स्वरहरु सुनिन थालेका छन्। तर यस्तो बेलामा स्वास्थ्य सामाग्री जसले ल्याएपनि विरोध गर्नुको औचित्य नहुने नेकपा नेताहरुले बताएका छन्।

नेकपा नेता देवेन्द्र पौडेल यस्तो संकटको बेलामा स्वास्थ्य सामाग्री कहाँ, कसले र कसरी ल्यायो भन्दा पनि जतिजक्यो चाँडो ल्याउ भनेर दवाब दिनुको ठाउँमा विरोध गर्नुको औचित्य नहुनेब बताउँछन्।

‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामाग्री ल्याउन सम्झौता गरिसकेको थियो, अख्तियारमा उजुरी परेर विरोध भएपछि उहाँहरु पनि डराउनु भयो,’ नेता पौडेलले डिसी नेपालसँग भने, ‘पारदर्शी र चाँडो स्वास्थ्य उपकरण ल्याउन सरकारले नेपाली सेनालाई जिम्मा दिएको हुनुपर्छ।’

अन्य निकायले ल्याउँदा विरोध र विवाद भएपछि कम विवादित संस्था नेपाली सेनालाई त्यसको जिम्मा दिनु उचित भएको उनको भनाइ छ।

सरकारले ओम्नी कम्पनीसँगको ठेक्का रद्द गरेपछि काेराना संक्रमण राेकथाम र नियन्त्रणका लागि  उपकरण र औषधि खरिदको जिम्मेवारी नेपाली सेनालाई दिएको थियाे।

मन्त्रिपरिषद्को १६ चैतको बैठकको निर्णय भन्दै विहिबार साँझ रक्षामन्त्रालयलाई गरिएको पत्रचारमा सो सरकार-सरकारबीच सम्झाैता (जिटुजी) मार्फत खरिद गरिने र त्यसको समन्वय नेपाली सेनाले गर्ने उल्लेख छ ।

बिहीबार कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता अर्थमन्त्री तथा सूचनामन्त्री डायुवराज खतिवडाले स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *