राजधानीको मुख्य बजारमा हजारौं लाशको थुप्रो, विश्वकै ठूलो खाद्यपदार्थ बजार बन्यो मुर्दाघर
काठमाडौं। विश्वकै सबैभन्दा ठूलो खाद्यपदार्थको थोक बजार मुर्दाघरमा परिणत भएको छ । फ्रान्सको राजधानी पेरिसमा रहेको यो विशाल बजारलाई अहिले कोरोनाभाइरसबाट ज्यान गुमाउने मृतकहरुको लाश राख्ने ठाउँ बनाइएको छ । यद्यपि यहाँ अहिले पनि लाशसँगै मासु, माछा र तरकारी बिक्रीको काम पनि जारी छ । फ्रान्सको राजधानी पेरिसको दक्षिणमा रहेको रुंगिस इन्टरनेशनलले १ हजार कफिनको लागि रेफ्रिजेरेट गरिएको हल उपलब्ध गराएको डेलिमेलको समाचारमा उल्लेख छ ।
‘यो जरुरी छ किनकि अन्तिम संस्कारसम्बन्धी कार्य गर्ने कर्मचारीले ठलो संख्यामा भइरहेको मृत्युदरको सामना गर्न सक्दैनन् । ठूलो खाली ठाउँ आकस्मिक रुपमा आवश्यक थियो’ शहरको प्रहरी स्रोतले भन्यो ‘शुक्रबारदेखि यहाँ लाशहरु ल्याउने क्रम सुरु भएको छ । सोमबार मृतकका परिवारका सदस्यले कडा सुरक्षात्मक उपाय अपनाएर अन्तिम श्रद्धाञ्जली दिन पाउनेछन् ।’पेरिस पुलिसका प्रमुद डिडियर लल्लेमेन्टले यहाँ लाश सार्ने प्रक्रियालाई स्वीकृति दिँदै भने ‘पेरिस फ्रान्सको सबैभन्दा प्रभावित क्षेत्र हो ।’ उनले यो संकट केही हप्ता अझै लम्बिने आशंका भएको बताए ।
लाश राख्ने हल बजारको छेउमा रहेको र अन्यको पहुँचभन्दा बाहिर आइसोलेट गरिएको पुलिस स्रोतले जनाएको छ । यो हलबाट कफिनहरु फ्रान्सभित्रै वा बाहिरका चिहानघाटमा लगिनेछन् । १५ हजार जनाले काम गर्ने र ५७५ एकड षेत्रमा फैलिएको यो बजारमा खानेकुरा बिक्रीको काम पनि जारी रहने बताइएको छ । फ्रान्समा कोरोनाभाइरसको संख्या ९० हजारको हाराहारीमा पुगिसकेको छ र ७ हजार ५ सय भन्दा धेरैले यहाँ ज्यान गुमाइसकेका छन् ।
Facebook Comment