कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्न तीन जिल्लामा सेनाको टोली जाँदै
काठमाडौं । सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका तीन जिल्लामा सेनासहित कोरोना परीक्षण टोली खटाउने निर्णय गरेको छ । कोरोना संकट व्यवस्थापन टोली (क्राइसिस म्यानेजमेण्ट टिम) को बैठकले जुम्ला, डोटी र अछाममा कोरोना परीक्षणका लागि सेनासहितको टोली पठाइने निर्णय गरेको हो ।
आइतबार दिउसो रेन्जर गणमा बसेको कोरोना संकट व्यवस्थापन टोलीको मंगलबार सो टोली पठाउने निर्णय गरेको हो । सो निर्णयलाई आइतबार साँझ बसेको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनुमोदन गरेको छ । तीन जिल्लामा भारत लगायत देशबाट फर्किएका १ हजार जना क्वारेन्टाइनमा बसेको र हजारौको संख्यामा भारतबाट नेपाल फर्किएका नेपालीहरु रहेको जानकारीपछि सरकारले सो निर्णय लिएको हो । चैत ११ गतेपछि भित्रिएका कतिपयलाई सीमाबाटै क्वारन्टिनमा लगिएको भए पनि उनीहरुको स्वास्थ्य परीक्षण समेत नभएको अवस्था आइतबार बसेको बैठकले सो निर्णय अनुमोदनका लागि पठाएको थियो ।
उच्चस्तरीय समन्वय समितिले स्रोतले दिएको जानकारी अनुसार उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर चार्टड गरेर पठाइनेछ । सो टोलीमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु रहनेछन् । उनीहरुले संक्रमणको आशंका गरिएका व्यक्ति बसेको ठाउँमै पुगेर नमुना संकलन गर्ने र नमुना काठमाडौँ ल्याएर परीक्षण गर्नेछन् । परीक्षणको दायरा बढाउनु पर्ने माग बढिरहेका बेला सरकारले बाग्लुङ, कैलाली र कञ्चनपुरपछि जुम्ला, अछाम र डोटीमा परीक्षण गर्ने भएको हो ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ । शनिबार थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएपछि यसको संख्या चार पुगेको हो भने नेपालभरबाट यसको संख्या ९ पुगेको छ । यसअघि दुबईबाट फर्केका धनगढीका एकजनामा कोरोना संक्रमण देखिएको थियो । विदेशबाट संक्रमित भएर आएकाबाट अन्यमा सरेको पहिलो केस पनि देखिएको छ । संक्रमण देखिएका तीनजनामध्ये दुईजना भारतबाट फर्केका हुन् । उनीहरू लकडाउनकै समयमा भारतबाट स्वदेश फर्किने सयौँको भिडमा लामो समय नाकामा थुनिएको खुलेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय संक्रमित युवा १२ चैतमा भारतबाट घर फर्किरहेका अन्य एक हजारजनासँगै झन्डै २४ घन्टा धनगढीको त्रिनगर नाकामा रोकिएका थिए । लकडाउनको समयमा ११ चैतको बेलुकीबाट त्रिनगर नाकामा पुगेकालाई प्रहरीले दोस्रो दिन रातिसम्म नाकामा रोकेर राखेको थियो । स्थानीय प्रशासनले बसको व्यवस्था गरेर सीमामा रोकिएका ती युवासँगै अन्य नौ सय ९९ जनालाई १२ चैतको राति गन्तव्यमा पठाएको थियो । संक्रमित युवा भारतबाट फर्केका लम्की क्षेत्रका अन्य स्थानीयसँगै १२ चैतको राति १० बजे बस चढेर गन्तव्य पुगेका थिए । जस्ले गर्दा कैलाली, अछाम, डोटी, कञ्चनपुर जुम्ला लगायतका जिल्लामा भारतबाट नेपाल आएका व्यक्तिहरु हजारौँ रहेका छन् ।
Facebook Comment