यूएईमा थप ३ जना नेपाली कोरोना भाइरसबाट संक्रमित
काठमाडौँ । खाडी मुलुक यूएईमा थप ३ जना नेपाली कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । योसँगै यूएईमा कोरोना संक्रमित नेपालीहरुको सख्या ११ पुगेको छ । तीमध्ये २ जना भने उपचारपछि यसअघि नै निको भैसकेका छन् ।
यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले थप ३ जनामा कोरोनाको संक्रमण देखिएको डिसी नेपाललाई बताए । ‘ हामीलाई थप ३ जना नेपालीमा कोरोनाको पुष्टि भएको भन्ने जानकारी आएको छ,’ उनले डिसी नेपालसँगको टेलिफोन सम्पर्कमा भने ‘संक्रमित ९ जना नेपालीको हाल अस्पालमा उपचार भैरहेको छ । हामीलाई जानकारी गराइए अनुसार उहाँहरु सबैको अवस्था नर्मल (सामान्य) छ ।’
राजदूत ढकालले संक्रमित नेपालीको अवस्थामा बारेमा बुझ्न यूएई सरकारसँग दूतावास निरन्तर सम्पर्कमा रहेको पनि बताए । उनका अनुसार कोरोना संक्रमित नेपालीहरुको उपचार यूएई सरकारले नै नि:शुल्क रुपमा गरिरहेको छ ।
यूएईमा हालसम्म १ हजार ७ सय ९९ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये १० जनाको ज्यान गएको छ । त्यस्तै १ सय ४४ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् भने १ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि गएको शनिबार रातिदेखि यूएईको दुबई राज्य लकडाउन गरिएको छ ।
Facebook Comment