एक हजार २०० लाई राहत वितरण

डिसी नेपाल
२४ चैत २०७६ २१:०७

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार २०० विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरुलाई खाद्य सामग्री वडाद्वारा प्रदान गरिएको हो ।

यही चैत २० गतेदेखि राहत वितरण शुरु गरेको उक्त वडाले स्थानीय किमडोल, मञ्जुश्री मार्ग, ठाडो भ¥याङ, वनस्थली मार्ग, चःमतीलगायत स्थानका गरीब परिवारलाई चामल, पीठो, चिउरा, तेल, नुनलगायत सामग्री प्रदान गरेको छ । वडाध्यक्ष ईश्वरमान डङ्गोलले कोभिड–१९ का लागि स्वास्थ्य र राहत सामग्रीका लागि रु आठ लाख निकासा गरिएको जानकारी दिए ।

उनका अनुसार यही चैत १७ गते महानगरपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गरेको जनाइएको छ । त्यसपछि नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरिएको हो । प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरिएको भए पनि केही विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।

अझै ३५० परिवारलाई राहत उपलब्ध गराउन बाँकी रहेकाले उनीहरुलाई मङ्गलबार वितरण गरिने स्वयम्भूस्थित आनन्दनगर टोल सुधार समितिका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए । चारजनाको परिवारलाई १२ किलो, पाँचजनाभन्दा बढी परिवार भएकालाई १६ किलो खाद्य सामग्री उपलब्ध गराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *