कोरोनाले प्रभावित व्यवसायलाई राष्ट्र बैंकले सम्वोधन गर्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको व्यावसायिक वातावरणलाई सम्बोधन गर्न केन्द्रीय बैंक तयार रहेको बताएका छन् ।
मंगलबार राष्ट्र बैंकमा आयोजित स्वागत कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने–‘कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता छैन । तर, यसबाट आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति राष्ट्र बैंकले आवश्यक पहल गर्नेछ ।’
गभर्नर अधिकारीले कोरोना भाइरसको संक्रमणले नेपालको अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने बताए । यस्तै केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गरे ।
कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गरे ।
अर्का डेपुटी गभर्नर शिबराज श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यबाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।
मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । मंगलबार विहान सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनी राष्ट्र बैंक पुगेर पदवहाली गरेका हुन् ।
अधिकारी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर हुन् । खोटाङमा जन्मिनुभएका उनी २०४२ मा राष्ट्र बैंकमा उप–निर्देशकबाट सेवा सुरु गरेका थिए । २०६७ पुसदेखि २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको जिम्मेवारी सम्हालेका उनले भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गरेका छन् ।
डेपुटी गर्भनरबाट अवकाश भएपछि उनलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
Facebook Comment