ग्रह परिवर्तनले २०७७ मा अचानक राजनीतिक हलचल हुनसक्छ !

डिसी नेपाल
२५ चैत २०७६ २२:१५

ज्योतिष विज्ञान पनि एउटा शास्त्र हो । यसको सहायताबाट भविष्यवाणी, सहि मार्गनिर्देशन तथा विभिन्न किसिमका उपायको खोजिगर्न सकिन्छ । यो खगोल विज्ञान हो । ज्योतिषलाई वेदको तेस्रो आँखा भनेर परिभाषित पनि गरिएको छ ।

वेदको सही ज्ञान प्राप्त गर्नको लागि ज्योतिषको ज्ञान हुनु आवश्यक छ । सफल शासकहरु प्रचिन काल देखिनै ज्योतिष तथा खगोल शास्त्रको निर्देशनमा आफ्ना योजना तय गर्ने गर्दथे । महाप्रतापी त्रिलोकपति राजा रावण जसले चार वेद कण्ठस्थ बनाएका थिए । उनी ज्योतिषका सिद्ध ज्ञाता पनि हुन् जसले रावण संहिता जुन ज्योतिषको सिद्ध ग्रन्थको नै रचना गरेका थिए ।

जसको बलबाट उनले शनि र यमराजलाई आफ्नो वसमा पार्न सफल भएका थिए । छैटौं शताब्दिमा वराहमीहिरले बृहज्जातक, बृहत्संहिता र पञ्चसिद्धान्तिका लेखेका थिए । सातौं शताब्दिमा आर्यभट्टद्वारा रचना गरिएको आर्यभट्टीय ग्रन्थले खगोल र गणितीय विषयका बारेमा विश्वव्यापी आफ्नो सिद्धान्तले व्यापकता पाउन सफल भएको मानिन्छ । ऋषि पराशरद्वारा रचना गरिएको होराशास्त्र जुन ज्योतिषको सिद्ध ग्रन्थका रुपमा आजसम्म पनि उत्तिकै प्रसिद्ध मानिन्छ ।

वर्षभरीका गतिविधि तथा मुहूर्त हेर्नको लागि नीलकण्ठी, मुहूर्तचन्तामणि, भावप्रकाश, मानसागरी, फलदीपिका, लघुजातकम् आदि ग्रन्थहरु पनि धेरै नै प्रसिद्ध मानिन्छन् । त्यस्तै, कीरो अर्थात वेन्हम् जस्ता पाश्चात्य ज्योतिषहरुले हस्तरेखा किताब लेखी ‘नत्रेदांश’ को भविष्यवाणी पनि विश्वमा प्रसिद्ध मानिन्छ ।

‘पञ्चाङ्ग’ दिनको बारेमा जानकारी गराउने एक ज्योतिषीय प्रणाली हो । पञ्चाङ्गको चक्रमा खगोलीय तत्व जोडिएको हुन्छ । बाह्र महिनाको एक वर्ष, सात दिनको एक हप्ता राख्ने प्रचलन वि.सं. बाट सुरु भएको थियो । महिनाको हिसाब, सूर्य र चन्द्रमाको गतिको आधारमा राखिएको हुन्छ । गणना अनुसार हाम्रो हिन्दू पञ्चाङ्ग तीन आधारहरु पाइन्छन् ।

पहिलो चन्द्रमाको आधार, दोस्रो नक्षत्रको आधार र तेस्रो सूर्यको आधार । जति पनि हामीले गते, महिना र बारहरू हेर्छौं त्यो सबै सूर्यको परिभ्रमणका आधारमा लेखिएको हुन्छ हामीले प्रयोग गर्ने पात्रो सुर्यको आधारमा तयार पारिएको हो । एक वर्षमा १२ महिना हुन्छन्, प्रत्येक महिनामा ३० दिन हुन्छन् । सूर्यका परिभ्रमणका आधारमा गते, बार, महिना हेरिए झैँ चन्द्रमासका आधारमा तिथि, बार, नक्षत्र, योग र करण हेरिन्छन् जसलाई हामी पञ्चाङ्ग भन्दछौँ । पञ्चाड्ड नेपाल लगायत अन्य देशको ज्योतिष विधाको प्रमुख ऐना नै मानिन्छ ।

पञ्चाङ्ग एकमात्र त्यस्तो साधन हो जसबाट समयको विभिन्न ईकाइहरुको ज्ञान प्राप्त गर्नुका साथै सम्वत्, महिना, पक्ष, तिथि, दिन आदिको जानकारी लिई सबै प्रकारका धार्मिक पर्व तथा नित्य नैमित्तिक कर्मका साथै विभिन्न मांगलिक कार्यहरु विवाह, व्रतबन्ध, गृहारम्भ, गृहप्रवेश, ग्रहशान्ति आदिको मुहूर्त तय यसैका आधारमा गरिन्छ ।

प्राचीन पद्धति आधुनिक युगसम्म आइपुग्दा पनि यसमा कुनै परिवर्तन भएको पाइँदैन । हजारौँ वर्ष पहिले गरेका ज्योतिषीय कुराहरुको गणना पनि आजसम्म जस्ताको त्यस्तै रहेको पाइन्छ । चन्द्रमास १५ दिनको एक पक्ष हुन्छ भने महिनामा शुक्लपक्ष र कृष्णपक्ष गरी दुई पक्ष हुन्छन् । प्रत्येक सम्वत्सरमा दक्षिणायन र उत्तरायण गरी दुई अयनहरु हुन्छन् । यी दुई अयनमा बाह्र राशि र सत्ताइस नक्षत्र भ्रमण गरीरहन्छन् ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैव्र्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’

चैत शुक्ल पक्षको प्रतिपदा देखि नै नयाँ वर्ष प्रारम्भ हुने शास्त्रमा उल्लेख गरिएको छ। ब्रहमाजीले सर्वप्रथम सृष्टिको आरम्भ पनि चैत शुक्ल पक्षको प्रतिपदा देखि नै गरेको कुरा विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ। वैदिक परम्परामा कुनैपनि गरिने शुभ कर्महरुमा सर्व प्रथम संकल्प पढ्दा सम्वत्सरको नाम उच्चारण नगरि कुनैपनि कर्म प्रारम्भ नै नहुने हुदा सम्वत्सरको महत्व धरै रहेको ज्योतिषविद्हरुले जानकारी गराएका छन् ।

चैत्र शुक्लपक्षको प्रतिपदा तिथिका दिन जुन बार पर्छ, त्यस बारको आधिपत्यमा ग्रह परिषद्को गठन हुने गर्छ, त्यसैले चैत्र शुक्लपक्षको प्रतिपदा तिथिका दिन बुधबार परेको हुँदा आगामी वर्ष २०७७ को राजा बुध ग्रह र वैशाख १ गते सोमबार भएकाले ग्रह परिषद्को मन्त्रीको भूमिकामा चन्द्रमा ग्रह रहने छन् ।यसरी बर्षभरि नै राजा र मन्त्री को भुमिका बुध र चन्द्रमालाई प्राप्त भएको हो ।

वर्ष २०७७ सालमा ‘प्रमादी’ नामक संवत्सर हुनेछ संवत्सर भन्नाले बर्षको नाम हो । यस बर्षको सम्वत्सर ६० सम्वत्सरमध्ये ४७ औं सम्वत्सरमा पर्दछ । बुध र चन्द्रमाको वर्षभरी नै युक्तिसँगै दृष्टि पनि रहने हुदा यसको प्रभाव समग्र क्षेत्रमा हुने गरेको छ । अन्य ग्रहले पनि महत्वपूर्ण विभागहरु प्राप्त गर्नेछन् । राजा बुध, मन्त्री चन्द्रमा,सस्येश गुरु, धान्येश मंगल, मेधेश सूर्य, रसेश शनि, नीरसेश शनि, फलेष सू्य, धनेश बुध, दुर्गेश सूर्यको भूमिकामा यस वर्षको ग्रहपद निर्धारण भएको छ। वर्ष भरि नै ग्रहहरुले आफुले पाएको जिम्मेवारीमा रहेर समग्र पृथ्वी र जगत्को हितका लागि कर्म गर्नेछन् ।

सम्वत्सरको फललाई विचार गर्दा परिधावी नाम संवत्सरले विदा लिंदैछ भने अब तृतीय रुद्र विंशति एवं इन्द्राग्नि अधिपति भएका दशम युग अन्तर्गत द्वितीय (परिवत्सर) वर्ष ‘प्रमादी’ नामको संवत्सर प्रारम्भ भई वर्षभरी रहने छ। चन्द्रमास अनुसार चैत १२ गते बुधबारदेखि नै प्रमादी नामक संवत्सर सुरु भएको हो ।यस भन्दा पहिले परिधावी नामक संवत्सर चलेको थियो भने राजा शनि र मन्त्री सूर्य रहेका थिए विश्व व्यापिरुपमा रहेको महामारी नयाँ आउने संवत्सर र असार ७ गते लाग्ने सूर्यग्रहण पछि पूर्णरुपमा नियन्त्रणमा आउने ज्योतिषीहरुले बताउछन् । २६ डिसेम्बर २०१९ मा लागेको सूर्यग्रहण पछि उक्त भाइरस देखा परेको हो । ग्रहण लाग्दा सूर्यबाट आउने नकारात्मक तरङ्गका कारणले पनि यस्तो अबस्था आउने गरेको विज्ञहरुको बुझाई छ ।

नयाँ प्रमादी नाम संम्वत्सरमा राजा बुध तथा मन्त्री चन्द्रमा हुँदा नेपाल लगाएत भारतवर्षका केहि भागहरुमा वर्षभरी नै जनतामा भय पैदा गराई रहने छ । जलवर्षामा यस वर्ष सोचेभन्दा पनि धेरैहुनेछ, अग्निप्रकोप र विशिष्ट व्यक्तिहरुमा भय तथा वैमनस्य उत्पन्न हुने योग रहेकोले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। जनताका हितमा लागेकाहरुले कुनै पनि प्रकारको जनहीतमा हुने कार्य नगर्दा जनताबाट विश्वास गुम्ने सम्भावना अत्याधिक रहेको छ ।

देवगुरु बृहस्पति आफ्नो निच राशिमा रहदै गर्दा असोज महिनामा अधिकमास (मलमास) परेको हुनाले सामान्य फलदायी वर्षका रुपमा यस वर्षलाई हेरिएको छ। यस वर्ष कुमार ग्रह बुध राजा र स्त्री कारक ग्रह चन्द्रमा मन्त्री पदमा आसीन भएकाले दुबै ग्रहले समान रुपमा न्याय, निति र धार्मिक रुपमा फल प्रदान गर्ने गर्दछन् । स्त्रीहरु बलियो रुपमा देखा पर्ने छन् । सरकार र संसदका बीच असामञ्जस्यताको स्थिति आइपर्ने देखिन्छ ।

प्रशासनिक क्षेत्रको दवावमा न्यायक्षेत्र पर्नेछ सरकारले कडा नीतिनियम बनाउन प्रयास गर्नेछ । सेनाधिपति मंगल ग्रह शनि तथा देबगुरु बृहस्पतिसंग सुरुवाती समयदेखि रहने हुदा सैन्य क्षेत्र सुरुवाती समयमा बिबादास्पद देखिए जस्तो भएपनि वर्ष भरिनै शक्तिशाली भूमिकामा रहने योग रहेको छ जसबाट जनताले सुखको अनुभूति गर्ने देखिएको छ ।

तेसैले सेनाको प्रमुख उपस्थिति यस वर्ष रहने देखिएको छ यसको प्रभाव गत चैत १३ गते मंगलग्रह आफ्नो उच्च राशिमा परिवर्तन भएदेखि नै सुरु भैसकेको छ । शनि तथा मंगलएकैसाथ हुदा वाहन दुर्घटना, दैवीप्रकोप आदिका साथमा सामाजिक वातावरणमा पनि उथलपुथलको स्थिति सिर्जना हुनेछ र प्राकृतिक प्रकोप उत्पन्न हुने देखिन्छ।

अहिले मकर राशिमा उपस्थित शनि ग्रहले लगातार आगामी २०७७ भरि नै मकर राशिमा रहनेछन् तर श्रावण २१ गतेदेखि मंसिर १ गतेसम्म शनि ग्रह बक्रभई पुन धनुराशिमा परिवर्तन हुँदा यसले शासन सत्तामा नकारात्मक प्रभाव पार्ने योग निर्माण हुने देखिएको छ। यसअघि वि.स.२०४६ र ४७ सालमा पनि यस्तै समय चलिरहेको थियो उक्त समयमा देशमा राजनीति परिवर्तन भएको हुनाले पनि २०७७ सालमा अचानक राजनैतिक परिवर्तन हुन सक्ने सम्भावना प्रबल देखिन्छ ।

समग्रमा भन्नु पर्दा शासक वर्गमा दूरदर्शिताको कमी, धर्ममा ग्लानि, शासक वर्गमा निर्दयीपन जस्ता गुणहरु देखिनाले दुई धारमा दलहरु बिभाजन हुने संकेत रहेको छ । तेस्तै भाद्र २५ गते सम्म मिथुन राशिमा रहेको राहुले बृष राशिमा र धनु राशिमा रहेको केतु ग्रहले बृक्ष्चिक राशिमा परिवर्तन हुने छ जुन हाम्रो देशको राशि पनि हो । यी सबै कुरालाई विचार गर्दा वर्षभरि नै राजनीतिक प्रतिकूलताको हिसाबले शासकबाट जनतामा एक प्रकारको भय रहिरहने छ ।

धार्मिक तथा साँस्कृतिक गतिविधिमा राज्यको उदासिनता रहनेछ र जनतामा नैराश्यता कायम रहने देखिन्छ । राजा बुधग्रहका कारणले राज्यमा परस्पर विरोध हुने देखिन्छ । सूर्य आर्द्रा प्रवेश गरेको समयलाई विचार गर्दा क्षणिक रुपमा भए पनि शान्तिको आभास तथा आयातीत वस्तुहरुको उत्पादनमा वृद्धिले जनतामा थोरै मात्र भए पनि आशा बढ्नेछ । तरल पदार्थको मुल्यमा पनि वृद्धि हुने छ। वर्षा राम्रो हुदा फलफूल तथा नगदे बालिमा वृद्धि हुने छ।

जगल्लग्नलाई पनि विचार गर्दा वाणी स्थानमा केतु र चन्द्रमाको ग्रहण योग तेस्तै शनि,मंगल र निच बृहस्पति पराक्रम भावमा रहेका कारण उच्च पदस्थ व्यक्तिहरुमा विश्वासको संकट देखा पर्नेछ । ठूलाठूला विकासका योजनाले गतिलिन सक्दैन । वैदेशिक व्यापार असन्तुलन रहनेछ भने उपभोग्य वस्तुहरुको अभाव रहनेछ ।

बृहस्पति,शनि र मंगलको दृष्टि भाग्य भावमा पर्नाले स्वदेशी उद्योगको विकासमा केहि आशातित प्रगति हुने देखिन्छ । बुध पञ्चम स्थानमा रहेका कारण धर्ममा रुची बढ्नुका साथै, धार्मिक कृतिहरु बढ्नेछन् भने बौद्धिक क्षेत्रका कामहरु थुप्रै हुनेछन् । शनिको तृतीय दृष्टि पञ्चम भावमा बुधग्रहमा पर्नेहुदा मनोरञ्जन, खेलकुद आदि क्षेत्रहरु राम्रोसँग अगाडि बढ्नेछन् । कला, सङ्गीत, मेकअप, फेसनडिजाइन रेडिमेड कपडाको कारोबारमा बृद्धि हुनेछ ।

लेखक : दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *