पुमाभिरको जङ्गलमा लागेको आगो नियन्त्रणमा आएन
लमजुङ । दक्षिण एशियाकै नमूना घलेगाउँ जाने बाटो नजीकै बेँसीशहर नगरपालिका–६ स्थित पुमाभिर जङ्गलमा मङ्गलबार राति ८ः०० बजेदेखि आगलागी भएको आजसम्म नियन्त्रणमा आउन सकेको छैन । हालसम्म १७ हेक्टर क्षेक्रफलमा आगलागी भइसकेको र आजसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर पुनले बताए ।
आगलागी भएको करीब २० घण्टा हुँदासमेत आगो निभेको छैन । उक्त जङ्गलमा आगलागी भएको खबरपछि प्रहरी मङ्गलबार नै पुगेको थियो तर ठूलो आगलागी भएका कारण र स्थानीयवासी कोही त्यहाँ नआएपछि वडाध्यक्षलाई खबर गरेर प्रहरी फर्किएको उनको भनाइ छ । प्रहरीका अनुसार अझै केही हेक्टर क्षेत्रफलसम्म आगलागी हुनेछ । सो जङ्गल वरिपरि कुनै बस्ती नभएकाले आगो नियन्त्रणको प्रयास कसैबाट नभएको र बस्तीतिर आउन लागेमा मात्र आगो निभाउने प्रयास गरिने वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।
त्यस्तै मङ्गलबार राति राइनास नगरपालिकास्थित भलायोखर्कको जङ्गलमा आगलागी भएको र सो आगो राति १२ः०० बजे नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । यस भिरमा कति क्षेक्रफलमा आगलागी भएको यकिन भने आइनसकेको प्रहरीको भनाइ छ । केही दिनअघि सुन्दरबजार नगरपालिका–१ कुन्छा नजीकैको एक जङ्गलमा आगलागी हुँदा १५ हेक्टर वन सखाप भएको थियो ।
Facebook Comment