मुख्यमन्त्री राईद्वारा प्रयोगशाला निरीक्षण
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोशी अस्पतालले काभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सञ्चालनमा ल्याउन लागेको प्रयोगशालाको शुक्रबार निरीक्षण गरे ।
सो अवसरमा मुख्यमन्त्री राईले प्रयोगशाला काठमाडौँ पछिको ठूलो क्षमताको रहेको र दैनिक २०० सम्मको थ्रोट स्वाब नमूना परीक्षण गर्न सकिने जानकारी दिए । सो अस्पतालका प्रमुख डा संगीता मिश्राले शुक्रबार साँझदेखि स्वाबको परीक्षण शुरु हुने जानकारी दिए। पहिलो चरणमा ६०० को नमूना सङ्कलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पतालका विज्ञ बलराम गौतमले बताए।
यसैबीच क्वारेन्टाइनमा बसेकाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) का लागि प्रदेशका चार स्थानमा टोली खटाइएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलसोतमा क्वारेन्टाइनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिए । प्रदेशका १४ वटा जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि आवश्यक सामान, किट र पिपिइ पठाइसक्ने बताए । आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट यहाँ ल्याइएको थियो ।
Facebook Comment